काठमाण्डौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम मिश्रित बनेको छ ।
यसको असर विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा देखिएको छ, जहाँ बादलसँगै वर्षाको गतिविधि बढ्दो क्रममा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले सामान्यदेखि आंशिक बदली रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागमा समेत बादल लाग्ने क्रम जारी छ ।
हाल कोशी र गण्डकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने बागमती प्रदेशका सीमित स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।
दिउँसोको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने सम्भावना छ ।
साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ ।
वर्षाको सम्भावनासँगै पश्चिम नेपालका केही भू–भागमा गर्मीको प्रभाव भने अझै कम भएको छैन ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा तातो दिनको अवस्था कायम रहने तथा तराई क्षेत्रमा तातो हावा र तातो लहरको जोखिम जारी रहने चेतावनी दिइएको छ ।
मौसमविद्का अनुसार पश्चिम तराईमा केही दिनयता तापक्रम उल्लेख्य रूपमा बढेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लामा आज र भोलि पनि अत्यधिक गर्मी, तातो हावा तथा ‘हीटवेभ’ को प्रभाव देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा र श्रमिक वर्गलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।
रातिको मौसम पनि पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकीका केही स्थानसँगै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै क्षेत्रमा राति पनि मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहने पूर्वानुमान गरिएको छ ।

