काठमाण्डौं । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक सर्वेक्षणदेखि विभिन्न विधेयकमाथिको छलफलसम्मका विषय मुख्य एजेन्डाका रूपमा अघि बढाइने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ ।
दुवै सदनमा आर्थिक, सांस्कृतिक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयकहरूबारे प्रक्रिया अघि बढ्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभामा राष्ट्रियसभाबाट सन्देशसहित आएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिनेछ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने सम्भावित कार्यसूची छ ।
उता राष्ट्रियसभाको बैठकमा पनि आर्थिक विषयले प्राथमिकता पाउने भएको छ ।
अर्थमन्त्री डा. वाग्लेले त्यहाँ पनि आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।
साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

