काठमाण्डौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ ।
यही मौसमी प्रणालीका कारण मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हुरीसहित वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
आज कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशका उच्च तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, बागमती र गण्डकीका तराई क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार पश्चिम नेपालका केही भू–भागमा गर्मीको प्रभाव भने कायमै रहनेछ ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा दिउँसोपछि हुरीबहावको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

