काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमा सम्पन्न नगर्ने ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको उक्त निकायले विभिन्न सरकारी संस्थाको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो ।
कार्यालयले जारी गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१०)अनुसार ठेक्का सम्झौताअनुसारको काम पूरा नगर्ने तथा जिम्मेवारी पालना नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा पर्ने कम्पनीमध्ये राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना मा संलग्न रमण कन्स्ट्रक्सन र Patel Engineering Limited समेत रहेका छन् ।
ठूला आयोजना निर्माणमा ढिलासुस्ती र कार्यसम्पादन कमजोर रहेको गुनासो बढिरहेका बेला सरकारले यस्तो कदम चालेको हो ।
कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाइनेछ ।
यस अवधिमा उनीहरूले सरकारी ठेक्का, बोलपत्र वा अन्य खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना, सडक, पुल तथा पूर्वाधार निर्माणमा ढिलाइ, लागत वृद्धि र कमजोर कार्यसम्पादनबारे आलोचना बढिरहेका बेला निर्माण व्यवसायीमाथि कडाइ शुरु गरिएको संकेतका रूपमा पनि यो निर्णयलाई हेरिएको छ ।


