काठमाण्डौ । काठमाडौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानी तथा कारबाही अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ५३५ जना सवारीचालक कारबाहीमा परेका छन्।
उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियमको पालना गराउन तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित रूपमा सञ्चालन भइरहेको अनुगमनका क्रममा विभिन्न किसिमका नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १२९ जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
ट्राफिक सङ्केत बत्तीको उल्लङ्घन गर्ने १०६ जना चालकलाई जरिवाना गरिएको छ भने तीव्र गतिमा सवारी चलाएर दुर्घटनाको जोखिम बढाउने १३८ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
यसैगरी लेन अनुशासन पालना नगर्ने ८१ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १४१ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११३ जना चालकलाई समेत कारबाही गरिएको छ।
त्यस बाहेक ट्राफिक नियमका अन्य विविध प्रावधान उल्लङ्घन गर्ने एक हजार ६०९ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तथा चालकहरूलाई नियमप्रति जिम्मेवार बनाउन नियमित रूपमा चेकजाँच तथा निगरानी अभियान सञ्चालन हुँदै आएको छ।
ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्राका लागि सबै सवारीचालकलाई सचेत रहन समेत कार्यालयले आग्रह गरेको छ।

