काठमाण्डौ । युवा खेलाडी जोहान मानजाम्बीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले बोस्निया–हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘बी’ मा नकआउट चरणतर्फ बलियो कदम चालेको छ।
खेलको अधिकांश समय गोलरहित बराबरीमा रहेको अवस्थामा दोस्रो हाफको ७४औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मन्जाम्बीले शानदार भलीमार्फत स्विट्जरल्यान्डलाई अग्रता दिलाए। त्यसपछि बोस्नियाका डिफेन्डर तारिख मुहारेमोम्बीक रातो कार्ड पाएर बाहिरिएपछि खेल स्विट्जरल्यान्डको पक्षमा मोडियो।
खेलको ८४औँ मिनेटमा रुबेन भरगासले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए। निर्धारित समयको अन्त्यतिर वर्गासकै पासमा मन्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याए। त्यसपछि इन्जुरी समयमा ग्रानिट हाकाले पेनाल्टीमार्फत गोल थपे।
बोस्नियाका लागि वैकल्पिक खेलाडी इरमिन मामिकले कर्नरपछि आकर्षक भलीमार्फत सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन्। खेलपछि मन्जाम्बीले यो उपलब्धिलाई आफ्नो करियरकै उत्कृष्ट क्षण भएको बताएका छन्। २० वर्षीय मिडफिल्डरले बेन्चबाट आएर दुई गोल गर्दै स्विट्जरल्यान्डको जितमा निर्णायक भूमिका खेले।
यस जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ र अन्तिम ३२ मा स्थान बनाउन बलियो अवस्थामा पुगेको छ। यता बोस्निया भने एक अंकसहित समूहको पुछारमा रहेको छ।

