काठमाण्डौ । अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। दुई देशबीच भएको सम्झौतामा हस्ताक्षर भएपछि यो कदम चालिएको हो।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको पुष्टि गर्दै राष्ट्रपतिको निर्देशनअनुसार नाकाबन्दी समाप्त गरिएको जनाएको छ।
सेन्टकमले एक्समा लेखेको छ, ‘आज अमेरिकी सेनाहरूले राष्ट्रपतिको निर्देशनअनुसार इरानी बन्दरगाहहरू तथा तटीय क्षेत्रमा आउने–जाने सबै जहाजहरूमा लगाइएको नाकाबन्दी हटाएका छन्। अब अमेरिकी सेनाहरूले इरानी बन्दरगाहहरूबाट आउने वा जाने जहाजहरूलाई रोक्ने छैनन्। नौसैनिक नाकाबन्दी कार्यान्वयन गर्ने सबै प्रयासहरू बन्द गरिएको छ। हाम्रो प्रमुख नौसैनिक जहाजहरू सामान्य क्षेत्रमा रहनेछन् ताकि सम्झौताका सबै पक्षहरूको पालना सुनिश्चित गर्न सकियोस्।’
मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बिहीबार नै यो सम्झौता तत्काल प्रभावबाट लागू हुने बताएका थिए।
उनका अनुसार सम्झौताको पहिलो चरणअन्तर्गत इरानले स्ट्रेट अफ हर्मुज खुला गर्नेछ र अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेछ।

