काठमाण्डौ । कतारको प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्र रास लाफान इन्डस्ट्रिल सिटीमा भएको भीषण विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेको कतारी अधिकारीहरूले जनाएका छन्।
कतारको गृह मन्त्रालयका अनुसार बार्जान ग्यास प्रशोधन केन्द्रमा सञ्चालन पुनः शुरु गर्ने क्रममा प्राविधिक खराबीका कारण विस्फोट भएको हो। घटनापछि लागेको आगो आपतकालीन उद्धार टोलीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको उपचार भइरहेको छ भने बेपत्ताहरूको खोजीका लागि विशेष उद्धार टोली परिचालन गरिएको छ।
अधिकारीहरूले घटनापछि कुनै ग्यास चुहावट नभएको र सर्वसाधारणको सुरक्षामा तत्काल कुनै खतरा नरहेको बताएका छन्।
रास लाफान औद्योगिक सहर विश्वकै सबैभन्दा ठूलो एलएनजी निर्यात केन्द्रका रूपमा परिचित छ। यहाँबाट विश्वको प्राकृतिक ग्यास आपूर्तिको महत्वपूर्ण हिस्सा निर्यात हुने गर्दछ। उक्त क्षेत्र यसअघि पनि क्षेत्रीय तनावका क्रममा क्षतिग्रस्त भएको थियो र मर्मत कार्य जारी रहेकै अवस्थामा यो नयाँ दुर्घटना भएको हो।

