काठमाण्डौ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सत्तारुढ लेबर पार्टीको नेतृत्व र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले सोमबार डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै पार्टीको नेतृत्व परिवर्तनका लागि औपचारिक प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन्।
उनका अनुसार नयाँ नेताको चयनका लागि मनोनयन जुलाई ९ देखि खुल्नेछ र नेतृत्व प्रतिस्पर्धा सम्पन्न भएपछि सेप्टेम्बरमा संसद् पुनः सुरु हुने समयसम्म नयाँ प्रधानमन्त्री पदमा रहने अपेक्षा गरिएको छ। उनले संक्रमणकालीन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित हुनेमा जोड दिएका छन्।
उनको राजीनामाको घोषणा पछि ब्रिटिश पाउण्ड र सरकारी बन्ड बजारमा सामान्य दबाब देखिएको छ। पाउण्डको मूल्य अमेरिकी डलर विरुद्ध करिब ०.२७ प्रतिशत घटेर १.३२०२ मा झरेको छ भने युरोको तुलनामा स्थिर रहेको छ। त्यसैगरी, १० वर्षे युके सरकारी ऋणपत्रको प्रतिफल ४.८५ प्रतिशतमा स्थिर रहँदै सीमित उतारचढाव मात्र देखिएको छ।
स्टारमरले बेलायतको शासन प्रणाली अनुसार सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने भएकाले पार्टीको नेतृत्व परिवर्तनसँगै सरकारमा पनि परिवर्तन हुने बताए।
उनले राजा किङ चाल्ससँग पनि कुराकानी गरेको उल्लेख गर्दै सहज सत्ता हस्तान्तरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। व्यक्तिगत मन्तव्यमा उनले परिवारलाई प्राथमिकता दिने र सार्वजनिक जीवनबाट पछि हटेर निजी जीवनमा ध्यान दिने बताएका छन्।

