काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.४६ अंकले घटेर २ हजार ७००.६५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेर ४६३.८० विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४४ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ५३ करोड ४९ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु)भन्छन्, ‘बजार अझै करेक्सन फेजमै छ । बजारको सेन्टिमेन्ट हेर्दा करेक्सन फेज सकिएको छैन । यो साता वा ९÷१० दिनसम्म बजार करेक्सन फेजमै चल्न सक्ने देखिन्छ । सम्भवतः बजार २६२० वा २६५० विन्दु आसपास आएर करेक्सन सकिने देखिन्छ । त्यसपछि बजारले बल्ल मोमेन्टम लिने देखिन्छ ।’
उनले थपे, ‘अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट बिल्ड अप भइसकेको छैन । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएपनि आफ्नो कार्यकाल कसरी पुरा गर्छ र बजारको लागि कस्तो काम गर्छ भन्ने लगानीकर्ता पर्खाइमा छन् । साथै, एउटा कुरा धितोपत्र बोर्डमा अध्यक्ष आएपछि अब आईपीओको बाढी पनि आउन सक्ने देखिन्छ । त्यस्तो भयो भने मार्केटको पैसा सबै आईपीओमार्फत जाने देखिन्छ र यसले बजारलाई प्रभाव पार्ने सम्भावना हुन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छायो भने १० वटामा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले बढ्यो । यस्तै व्यापार र लघुवित्त समूह क्रमशः ०.९२ र ०.४२ प्रतिशतले बढ्यो ।
यो दिन म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.६८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१० प्रतिशत, विकास बैंक ०.०७, होटल ०.१५, हाईड्रो ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य समूह ०.२० प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सोपान फर्मास्युटिकल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड ५१ लाख, स्वावलम्बन लघुवित्तको २० करोड ४३ लाख र आँखुखोला जलविद्युत १७ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला र याम्बालिङ हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.३३ प्रतिशत, सोपान फर्मास्टुटिकल्सको ५.६६ र एपोलो हाईड्रोको सेयरमूल्य ५.२६ प्रतिशतले बढ्यो ।
यो दिन गार्डियन माइक्रो लाइफको सेयरमूल्य सर्वाधिक अर्थात ३.०४ प्रतिशतले घट्यो ।

