काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।
उनकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ माग गर्ने आदेश दिएको छ।
त्यसपछि असार १६ गते मुख्य सुनुवाइ हुने मिति तोकिएको अदालत स्रोतले जनाएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सिलसिलामा यही असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।
उनलाई असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको छ।

