काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरिएको छ।
विस्थापित परिवारलाई तत्काल पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने मागसहित प्रभावित समूहहरूले सरकारको कदमप्रति असन्तोष व्यक्त गरेका छन्।
केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले विस्थापित परिवारका लागि सुरक्षित र दीर्घकालीन आवास व्यवस्था तत्काल लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले हटाउने क्रममा भत्काइएका घर तथा संरचनाको उचित क्षतिपूर्ति दिनुपर्ने र वैकल्पिक आवासको व्यवस्था नगरी गरिएको कारबाही अन्यायपूर्ण भएको बताएका छन्।
त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका परिवारलाई ठोस विकल्प नदिई स्थानान्तरण वा निष्कासनको प्रक्रिया अघि नबढाउन पनि उनीहरूको माग रहेको छ।
सरकारले हालै होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नै व्यवस्थापन आफैं गर्नुपर्ने भन्दै सूचना जारी गरेपछि प्रभावित समुदायमा असन्तोष थप बढेको र आन्दोलन विस्तार हुँदै गएको देखिएको छ।
प्रदर्शनकारीहरूले सुकुम्वासी समस्या समाधानका लागि दीर्घकालीन नीति र स्पष्ट कार्ययोजना तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

