काठमाण्डौ । मुलुकभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइरहँदा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ भने अपेक्षाकृत सुस्त देखिएको छ।
सरकारले विसं २०६१ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन शुरु गरेको हो।
किसानलाई रोपाइँका लागि प्रोत्साहित गर्ने तथा धान उत्पादन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
तर, यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएकाले रोपाइँ प्रभावित भएको कृषि विभागको तथ्याङ्कले देखाएको छ।
विभागका अनुसार असार १२ गतेसम्म देशभर कुल खेतीयोग्य धान क्षेत्रफलको ११.३३ प्रतिशत अर्थात् एक लाख ५६ हजार ५८३ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
गत वर्ष सोही अवधिमा १५.६ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो।
प्रदेशगत विवरणअनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ।
त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत र कोशीमा ८.३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
सबैभन्दा कम मधेश प्रदेशमा मात्र पाँच प्रतिशत क्षेत्रमा धान रोपिएको कृषि विभागले जनाएको छ।
विभागका वरिष्ठ अनुसार पर्याप्त वर्षा नहुनु रोपाइँ ढिलो हुनुको मुख्य कारण हो।
पहाडी जिल्लामा रोपाइँ अपेक्षाकृत अघि बढे पनि सिँचाइ र वर्षामा निर्भर तराईका अधिकांश क्षेत्रमा किसान अझै पानीको प्रतीक्षामा छन्।
यता, स्वदेशी उत्पादनले माग धान्न नसक्दा नेपालमा धान र चामलको आयात भने उच्च रहँदै आएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो ११ महिनामा मात्रै ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको धान तथा चामल आयात गरिएको छ।
यद्यपि यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक अर्ब १० करोड रुपैयाँले कम हो।
यस अवधिमा १८ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी मूल्यको चार लाख ६४ हजार मेट्रिक टन धान तथा १९ अर्ब ३० करोड रुपैयाँभन्दा बढी मूल्यको दुई लाख ४७ हजार मेट्रिक टन चामल विदेशबाट भित्रिएको छ।
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्ने भएपनि हालको उत्पादनले माग पूरा गर्न नसक्दा हरेक वर्ष करिब १० लाख मेट्रिक टन धान अभाव हुने गरेको छ।
उत्पादन र उपभोगबीचको यही अन्तर, साथै मसिनो तथा बास्नादार चामलप्रतिको उपभोक्ताको बढ्दो आकर्षणका कारण भारत, चीन, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, सिङ्गापुर तथा साउदी अरबलगायतका देशबाट धान तथा चामल आयात हुँदै आएको छ।

