काठमाण्डौ । चार पटकको विश्व च्याम्पियन जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणबाटै बाहिरिएको छ। सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि जर्मनीको विश्वकप यात्रा अप्रत्याशित रूपमा टुंगिएको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। पहिलो हाफको ४२औँ मिनेटमा मातियास गालार्साको क्रसमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४औँ मिनेटमा फ्लोरियन विट्सको उत्कृष्ट पासलाई काइ हाभर्ट्जले हेडमार्फत गोलमा परिणत गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए।
अतिरिक्त समयमा जोनाथन टाहले गरेको गोल भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि गोलरक्षकमाथि फाउल भएको ठहर गर्दै रद्द गरिएको थियो। त्यसपछि थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाहले प्रहार चुकाए। पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण बचाउ गरे भने जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए।
यससँगै पाराग्वेले विश्वकप २०२६ को सबैभन्दा ठूलो उलटफेरमध्ये एक नतिजा निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। साथै, विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको तथ्य पनि यस खेलले स्थापित गरेको छ।

