काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको कमजोर मागबीच वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि निक्षेपको औसत ब्याजदर थप घटाएका छन्।
नेपालका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ। एक महिनामै व्यक्तिगत निक्षेपको औसत ब्याजदर ०.०९०५ प्रतिशतविन्दुले घटेको हो।
संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि असारको ३.१८ प्रतिशतबाट घटेर साउनमा ३.११६ प्रतिशतमा सीमित भएको छ। संस्थागततर्फ औसत ब्याजदर ०.०६४ प्रतिशतविन्दुले घटेको देखिन्छ।
राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो कटौती
साउनका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक राष्ट्रिय वाणिज्य बैंक बनेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर असारको ४.७५ प्रतिशतबाट ०.७५ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ।
संस्थागत निक्षेपतर्फ पनि बैंकले ब्याजदर ४ प्रतिशतबाट एक प्रतिशतविन्दुले घटाएर ३ प्रतिशतमा झारेको छ।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशत र संस्थागततर्फको दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरेको छ।
एनएमबि बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको दर पनि ४ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेशनलले व्यक्तिगततर्फ ०.१५ प्रतिशतविन्दु र संस्थागततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। साउनमा बैंकको व्यक्तिगत निक्षेपको अधिकतम दर ३.९५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम भएको छ।
कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा झारेका छन्। दुवै बैंकले संस्थागत निक्षेपको दर भने यथावत् राखेका छन्।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको दर स्थिर राखे पनि संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट सामान्य घटाएर २.७५ प्रतिशत कायम गरेको छ।
नेपाल बैंकले संस्थागत ब्याजदर बढायो
अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा वा घटाउँदा नेपाल बैंकले भने संस्थागत निक्षेपको ब्याजदर उल्लेख्य रूपमा बढाएको छ।
बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको छ। संस्थागत निक्षेपको ब्याजदर भने असारको ३ प्रतिशतबाट एक प्रतिशतविन्दुले बढाएर साउनमा ४ प्रतिशत पुर्याएको छ। यो साउनका लागि वाणिज्य बैंकहरूले संस्थागत निक्षेपमा प्रस्ताव गरेको सबैभन्दा उच्च ब्याजदर हो।
१२ बैंकको ब्याजदर यथावत्
तालिकाअनुसार १२ वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर असारकै स्तरमा कायम गरेका छन्।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले ब्याजदर परिवर्तन गरेका छैनन्।
साउनमा व्यक्तिगत निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सर्वाधिक ४.५५ प्रतिशत ब्याजदर दिने भएका छन्। व्यक्तिगत निक्षेपको सबैभन्दा कम अधिकतम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको समान ३.८५ प्रतिशत रहेको छ।
औसत निक्षेप ब्याजदरको निरन्तर गिरावटले बैंकहरूको कोष लागत थप घट्ने देखिए पनि निक्षेपकर्ताले पाउने प्रतिफल भने अझै संकुचित हुने भएको छ।


