काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले बीमा तथा धितोपत्रसम्बन्धी कसुरका तीन फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिए पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल तत्काल थुनामुक्त नहुने भएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दामा विशेष अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। यही कारण जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाए पनि उनीहरू कारागारमै रहनेछन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा ऐनअन्तर्गतको कसुरमा अग्रवालसँग दुई करोड र भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
त्यस्तै, धितोपत्रसम्बन्धी अर्को मुद्दामा अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ। धितोपत्रसम्बन्धी तेस्रो मुद्दामा भने अग्रवालसँग एक करोड ५० लाख र भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ।
यसरी विभिन्न मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि त्यो आदेश सम्बन्धित मुद्दामा मात्रै लागू हुन्छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेश कायमै रहेकाले उनीहरूको तत्काल रिहाइको बाटो खुलेको छैन।
उनीहरू थुनामुक्त हुन सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत विशेष अदालतबाट साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश हुनुपर्नेछ। अन्यथा, बीमा र धितोपत्रसम्बन्धी मुद्दामा मागिएको धरौटी बुझाए पनि दुवै जना पुर्पक्षका लागि थुनामै रहनेछन्।

