काठमाण्डौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले केही विद्यार्थी नेता तथा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
नेविसंघकी अध्यक्ष करुणा कटुवालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीसमक्ष शान्तिपूर्ण रूपमा विरोध र असहमति राखेकै आधारमा विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको आरोप लगाएकी छन्।
उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सनम ओली, सचिव हिक्मतकुमार बुढा, सदस्य डम्मरसिंह ऐडी, कुलबहादुर बुढा, प्रकाश सन्जेल र विद्यार्थी दिनेश रेग्मीलगायत छन्।
नेविसंघले लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग, असहमति र विरोधका आवाज शान्तिपूर्ण रूपमा राख्न पाउनु प्रत्येक नागरिक तथा विद्यार्थीको संवैधानिक एवं मौलिक अधिकार भएको उल्लेख गरेको छ।
विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा विद्यार्थी प्रतिनिधिहरूको शान्तिपूर्ण विरोध सुन्नुको सट्टा प्रहरी प्रशासन प्रयोग गरी धरपकड र गिरफ्तारी गर्नु निन्दनीय तथा अलोकतान्त्रिक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
नेविसंघले घटनाप्रति आपत्ति जनाउँदै पक्राउ परेका सबै विद्यार्थी तथा युवाहरूलाई तत्काल र बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

