काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका रिमाल आज पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रिमाललाई काठमाडौं महानगरपालिका–७ सिफलबाट नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाल दीपक भट्टसँग सम्बन्धित मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए। गत जेठ २८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दा रिमाल फरार सूचीमा रहेका थिए । सोही अवस्थामा मुद्दा अघि बढाइएको थियो ।
बीमा तथा धितोपत्र क्षेत्रसँग सम्बन्धित उक्त कसुरमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

