काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले साढे ५० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत आव २०८२/८३ मा कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।
बीमकहरुको यो व्यवसाय अघिल्लो आव २०८१/८२ को तुलनामा १५.१२ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका थिए ।
सर्वाधिक प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो कमपनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आवमा ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो व्यवसाय अघिल्लो आवको तुलनामा ८.४० प्रतिशत बढी हो ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड रुपैया, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ११ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।
वृद्धिदरका हिसाबले भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेका छन् । हिमालयन एभरेष्टको व्यवसाय ३१ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने एनएलजी इन्स्योरेन्सले ३७ प्रतिशतको उच्च वृद्धि गर्दै ४ अर्ब २० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

