काठमाण्डौ । सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटनापछि उत्पन्न असहज परिस्थितिलाई लिएर हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन् ।
संयुक्त अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
धार्मिक अगुवाहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गरेका छन् । कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुने उनीहरूको भनाइ छ ।
उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
साथै, पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
संयुक्त अपिलमा धर्मको नाममा हिंसात्मक गतिविधि फैलाउने प्रयास भइरहेका बेला नागरिकलाई संयम अपनाउन, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने गतिविधि तथा सामाजिक सद्भाव खलबल्याउने कार्यबाट टाढा रहन आग्रह गरिएको छ ।
धार्मिक नेताहरूले सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्म मान्ने व्यक्तिप्रति विभेद वा घृणा गर्न नहुने बताएका छन् ।
उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेका छन् ।
संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुंयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।

