'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

गणेशराज पोखरेल भन्छन्–‘कमाएरै बैंकको पूँजी २१ अर्ब पुर्याउने योजना छ’

Nabil Bank Limited
'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'
Global IME Bank Limited

गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई निकै माथि उठाउने योजना बनाएका छन् । दोश्रो कार्यकाल सुरुवातको पहिलो कार्यदिनमै उनले बिजशाला प्रतिनिधिसँग आफ्नो योजनाहरुको विषयमा बेलीबिस्तार लगाए । प्रस्तुत छ पोखरेलसँगको गरिएको कुराकानीको सम्पादित अंश :

पहिलो कार्यकालको सफलतापछि दोश्रो कार्यकाल सुरु गर्नुभएको छ । तपाईले दोश्रो कार्यकालको सुरुवातमै ‘भित्र सिस्टम, बाहिर इमेज’को नारालाई प्राथमिकता दिनुभएको देखियो । यसको अर्थ के हो ? आउँदा दिनमा बैंक कस्तो बन्छ ? 
-मैले पहिलो कार्यकालमा बनाएको रणनीतिकै निरन्तरता हो ‘भित्र सिस्टम, बाहिर इमेज’को नारा । बाहिरका स्टेकहोल्डरलाई इमेजको पाटोले बाँध्छ । भित्रलाई सिस्टमले बाँध्छ । कस्टूमरले राम्रो सर्भिसको अपेक्षा गरेका हुन्छन्, नियामकले सुशासनको कुरा हेरेको हुन्छ । राम्रो सर्भिस दिएपछि राम्रो इमेज बन्छ । यी सबै कुरालाई संक्षेपीकरण गरी हामीले ‘भित्र सिस्टम, बाहिर इमेज’को स्लोगन बनाएका हौं । 

हामी अझ परिस्कृत हुन खोज्दैछौं । हलुका ढंगले भन्दा पनि अब गुणस्तरीय काम गरेर अगाडि बढ्ने हाम्रो सोंच तथा योजना हो । रेगुलेटरले खोजेको परिधिभित्र बसेर काम गरौं, सिस्टम चाहिँ इन्ट्याक्ट राखौं, भित्रका आफ्ना अंगहरु मजबुत बनाऔं, आँत बलियो राखौं भन्ने कुरा हो । तर बाहिरी इमेज पनि आकर्षक हुनुपर्छ । हाम्रा कर्मचारीहरुको बोलीवचन मीठो होस् भन्ने पनि यसको अर्को अन्तर्य हो । 
 
मेरो दोश्रो कार्यकालको वर्किङ डेको हिसाबले आज(२०७९ चैत १९ गते आइतबार) पहिलो दिन हो । अबको हाम्रो बाटो क्लियर छ । अबको युग डिजीटलाइजेसनको हो । हिजोमात्र हामीले विराटनगर, वीरगञ्ज र लुम्बिनीको हस्पिटल लाइन तथा काठमाण्डौभित्र कलङ्की र नयाँबजारमा क्यूएस मेसिनहरु राख्यौं । हिजै ५ वटा एटीएम पनि थप्यौं । हामी ब्राञ्च पनि ५ वटा थप्दैछौं, अब हाम्रा शाखा १८७ पुग्दैछन् । हाम्रो शाखा सञ्जाल ५५ वटा जिल्लामा पुगिसकेको छ । 

डिजीटलाइजेसनको प्लेटफर्ममा पनि हामीले धेरै काम गरेका छौं । म सीइओ हुँदैगर्दा ८९ हजारमा सीमित मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या अहिले बढेर साढे ६ लाख पुगिसकेको छ । हाम्रो मोवाइल बैंकिङको एप्स तथा कार्डको गुणस्तर अत्यन्त राम्रो छ भनेर बजारबाट फिडब्याक पाएका छौं । हाम्रा डिजीटल प्लेटफर्महरुमा धेरै सुविधाहरु पनि छन् । 

र, हामी अब कागजविहीन बैंकिङको थिममा अगाडि बढेका छौं । अबको दिनमा बैंकिङलाई सहज बनाउनुपर्छ । शाखा मात्र खोलेर, शाखारहित इकाईहरु मात्र थपेर हुँदैन, अब त बैंकको उपस्थिति डिजीटल माध्यममार्फत गाउँ–गाउँ र कुनाकन्दरासम्म पुग्नुपर्छ । 

अहिले पनि हाम्रो देशको मुख्य समस्यामध्ये एउटा हो वित्तीय पहुँच नहुनु । अझै पनि सबै ठाउँमा बैंकिङ पुगेको छैन । लोन लिने ग्राहकको संंख्या १८ लाख हाराहारी होला, जब कि देशको जनसंख्या ३ करोड हाराहारी पुगिसकेको छ । यो हिसाबले त लोन लिनेहरुको संख्या कम देखियो । फाइनान्सियल एक्सेसको कुरा गरिरहँदा पैसा साच्चिकै चाहिरेको वर्गमा हामी बैंकहरु अझै पुग्नै सकिरहेका छैनौं । आउँदा दिनमा सिटिजन्स बैंकले यो विषयमा पनि ध्यान दिनेछ । 

तपाइँले पहिलो कार्यकालमा बैंकलाई वित्तीय सूचकहरुमा निकै बलियो र प्रतिस्पर्धी बनाउनुभयो । दोश्रो कार्यकालमा फिनटेकको विकास र विस्तारमा केन्द्रीत हुने कुरा गर्नुभयो । तर, बैंकको पूँजी अझै पनि कम छ । यसमा चाहिँ कसरी अगाडि बढ्नुहुन्छ ?
-अहिले पनि हाम्रो बैंकको साइज पुगेको छैन । २० वटा बैंकका बीच तुलना गर्दा ८ वटा मर्जरपछि ठूला भएका रहेछन् । तीसँग हाम्रो प्रतिस्पर्धा हुँदैन । यस्तै, ज्वाइन्ट भेञ्चरका तीनवटा बैंक छन् । सरकारी तीनवटा बैंक छन् । हामीभन्दा माथिका रेञ्जका तीनवटा बैंक छन् । क्यापिटल हाम्रो साइजको, तर विजिनेशको हिसाबले हामीभन्दा २०–२५ अर्बले बढी विजिनेश भएका ३ वटा बैंक छन् भने हाम्रो रेञ्जका ३ वटा बैैंक छन् । हाल अस्तित्वमा रहेका बैंकहरुलाई वर्गीकरण गरेर हेर्दा हामीले आफूलाई कहाँ उभ्याउने र कतिमा खुशी हुने भन्ने विषयमा पनि छलफल हुनुपर्छ । योसँगै २० वटा बैंक नेपालको अर्थतन्त्रका लागि चाहिने संख्या हो वा होइन भन्ने विषयमा पनि छलफल होला नै । त्यसमा हामी सहभागी हुनैपर्छ, बोल्नैपर्छ, बोल्दै जाउला । 

हामीले गत ४ वर्षमा गरेको प्रगति पनि उल्लेख्य नै छ । ५९ अर्बको लोनलाई ४ वर्षमा १६२ अर्ब पुर्याएका छौं । ६५ अर्बको डिपोजिटलाई १६१ अर्ब पुर्याएका छौं । यो अवधिमा हाम्रो बैंकले डिपोजिटमा २६ प्रतिशतले ग्रोथ गरेको छ भने लोनमा २३ प्रतिशत । यो ४ वर्षको अवधिमा हामीले ५१ प्रतिशत लाभांश पनि बाँड्यौं । त्यो भनेको वार्षिक १२.७५ प्रतिशतको औसत हो । बैंकिङ उद्योगको औसत १४.३३ प्रतिशतको हिसाबले हेर्दा हामी २६ वटा बैंक हुँदाको अवस्थामा १५ औं पोजिसनमा पुग्न सफल भयौं भने हाम्रा सेयरधनीमा पनि कन्फिडेन्सको लेभल धेरै माथि आएको पाएका छौं । तर, हामीलाई अझ ठूलो साइज चाहिन्छ । हामीसँग अहिले करिब साढे १५ लाख कस्टूमरहरु हुनुहुन्छ । उहाँहरुलाई नै राम्रोसँग सेवा दिंदा पुग्ने अवस्था अहिले पनि भइसक्यो । अबका दिनमा रिटर्न टू सेयरहोल्डरको हिसाबले हेर्दा पनि १५ प्रतिशतको औसत  लक्ष्य राखेर अगाडि बढ्न गाह्रो छैन । 

मेरो सोंच चाहिँ कम्तीमा १५ प्रतिशतको कम्पाउण्डिङ ग्रोथ लिएर अगाडि बढ्नुपर्छ भन्ने हो । यसो गर्न सकियो भने यो चारवर्षको अवधिमा २१ अर्बजतिको क्यापिटल पुर्याउन सकिने रहेछ । अहिले हाम्रो १४ अर्ब २० करोडको क्यापिटल छ । र, डिपोजिटलाई ३ खर्ब जतिको रेञ्जमा र लोनलाई २ खर्ब ७० अर्ब जतिको रेञ्ज राखेर सेयरधनीलाई डबल डिजीटको रिटर्नको लक्ष्यसहित अगाडि बढ्नुपर्छ । तर, डिजीटल बैंकिङ र रिसर्च एण्ड डेभलपमेन्टलाई मजबुत बनाएर फुल्ली कम्प्लाइन्ट भई, स्टाफ र कस्टूमरलाई ह्याप्पी बनाएर अगाडि बढ्ने सोंच छ । 

अबको बैंकिङमा इनोभेसन र नयाँ टेक्नोलोजी भित्र्याएनौं भने पछि परिन्छ भन्ने हामीलाई पूरा ज्ञान छ । त्यसका लागि हामी हाम्रा बैंकिङका सबै प्रक्रियाहरुलाई पेपरलेस बनाउँछौं । सकभर मान्छेसँग भेट नभई वा ग्राहक बैंकमा आउनै नपर्ने अवस्था बनाउने योजनासहित अगाडि बढ्छौं । योसँगै हामी सुरक्षित पनि हुनुपर्छ । ग्राहकलाई समेत हाम्रो बैंकमा डिजीटल कारोबार गर्दा सुरक्षित महसुस हुनुपर्छ । 

हामीले हालै डिजीटल बैंकिङको ठूलो यूनिट पनि गठन गरेका छौं । रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेन्ट पनि बनाएका छौं । अबको चार वर्षे कार्यकालमा फिनटेक फ्रेन्ड्ली बैंक बनाउनेछौं भने कस्टूमरलाई ह्याप्पी र सेयरधनीलाई डबल डिजीटको रिटर्न दिने गरी अगाडि बढ्छौं । स्टाफहरु बैंक छाडेर अर्को बैंक नजाने अवस्था बनाउँछु, अफिस आउनेबित्तिकै अरुतिर जागिरका लागि अनलाइन फारम भर्नुपर्ने अवस्था अन्त गर्छु । यो पुगेन वा त्यो पुगेन भन्ने गुनासो राख्न नदिई स्टाफलाई दिनुपर्ने सबै सुविधा दिने गरी कमाउने बाटो पहिल्याउनेछु । अनेक आयामहरु खोजेर बैंकको आम्दानी बढाई यी लक्ष्य पूरा गर्न सकिन्छ । 

उसो भए अब सिटिजन्स बैंक इन्टरनेशनलले पूँजी वृद्धिका लागि मर्जर र एक्वीजिसनको रेश छाड्यो भनेर बुझ्दा हुन्छ ? 
-होइन, त्यसरी बुझ्न भएन । हाम्रो क्यापिटल एडूकेसी बिस्तारै टाइट हुँदैछ । अहिले नै १२ को रेञ्जमा छ । अब राइट इस्यू गर्न पाइन्न । अरु कसैलाई अक्वायर गर्दा पनि उनीहरुको पनि क्यापिटल उस्तै टाइट छ । तसर्थ थप विजिनेश गर्नका लागि पनि कमाउनैपर्ने बाध्यता छ । नाफाबाट आएको पैसालाई क्यापिटलमा कन्भर्ट हुने गरी वितरण गर्नुपर्यो । एउटा बाटो त्यो छ । अर्को बाटो चाहिँ : हामीले बण्डहरु इस्यू गर्नुपर्यो । 

मैले भनेको  २१ अर्बको क्यापिटल चाहिँ हाम्रै इन्टरनल प्रक्रियाबाट पुर्याउने भन्ने हो । नत्र भने कसरी विजिनेश गर्ने ? मैले भनेको १५ प्रतिशतको कम्पाउण्डिङ ग्रोथ गर्नलाई पनि मलाई क्यापिटल चाहिन्छ । यत्रो टाइट क्यापिटल छ, काउण्टर साइक्लिक बफरको कुरा छ । यस्तो बेलामा मेरो योजनालाई म्याच हुने गरी क्यापिटल प्लान बनाउनुपर्छ । 

अब बाँकी रह्यो मर्जरमा जाने या नजाने भन्ने कुरा । मर्जर गरेका संस्थाहरुले कति इफिसिएन्सी दिनुभयो भन्ने कुरामा पनि रिसर्च हुन आवश्यक छ । कस्तो सिनर्जी आयो भन्ने कुराका सिरियस रिसर्च हुनुपर्छ । यी कुरा नभई हामी मर्ज–मर्ज भनेर दौडिरहेका छौं । मर्जरबाट सोसाइटीलाई के बेनिफिट भएको छ भन्ने कुरा हेरिन आवश्यक छ । दुईवटा सीइओ भएको ठाउँमा एउटा सीइओ भएर ८–१० लाख रुपैयाँ महिनाको खर्च जोगिएर एकदमै बेनिफिट भएको हो कि वा के चिजमा बेनिफिट भयो त ? किनभने शाखाहरु घटेका छैंनन । स्टाफहरु घटाउन पाइन्न । कहाँनिर बढी बेनिफिट भयो ? मान्छेहरुलाई फिल हुने गरी रिसर्च गर्न आवश्यक छ । मलाई लाग्छ : एक–डेढ वर्ष अझै टाइम लाग्ला । मर्जरपछिको परफरमेन्सलाई चेक गरेर यसबाट राम्रै सिनर्जी आएको छ भने बैंकहरुको संख्या अझै घटाए हुन्छ ।
 
मर्जरका लागि हामी पनि ओपन नै छौं । हामीले पनि अहिलेसम्म ६ वटा बैंक लिएकै हो । नलिएको कहाँ हो र ? अहिले मर्जरको महाकुम्भमेलामा हामी पनि छलफलमा लागेकै हो । हाम्रो पनि दुईचार राउण्ड कुरा भएकै हो । हामी अछुतो छैनौं । अहिले पनि हामीले ज्वाइन्ट भेञ्चरका लागि कुरा गरिरहेकै छौं । अहिले पनि राम्रो विकास बैंक पायौं भने तुरुन्त कुरा अगाडि बढाउन हामीलाई इच्छा छ । हाम्रो बोर्ड ओपन छ । मन र तौरतरिका मिल्यो भने मर्जर हाम्रा लागि बाधक होइन । तर, चाहना सिटिजन्स बैंकको नाम नहराओस् भन्ने छ । हाम्रा प्रमोटरदेखि बोर्ड अफ डाइरेक्टरहरुको पनि त्यस्तै चाहना देख्छु म । मर्जर नगर्ने भनेको होइन । यस्तै, संस्थाको नाम मेटेर मर्जरमा जाने पनि हाम्रो कुनै योजना बन्दैन । 

अहिले कतिपय बैंकरहरु नेपालको बैंकिङ सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको निरश कुरा मात्र गर्छन् । बैंकहरुको आम्दानी घटिरहेको छ। नियामकले पनि यो वा त्यो पोलिसीको नाममा आम्दानीमाथि कैंची लगाइरहेको अवस्था छ । तपाई यस्तो अवस्थामा सगौरव घोषणा गरिरहनुभएको छ कि १५ प्रतिशतको ग्रोथ लिएर विजिनेश गर्छु, पूँजी बढाउँछु । कसरी सम्भव होला ? 
-मलाई लाग्छ, आशामै बाँच्ने हो । हामी आशावादी हुनुपर्छ । विभिन्न तौरतरिकाले अहिले अर्थतन्त्रमा विचनल जस्तो छ, केही असजिलो महसुस गरेर मान्छेले त्यस्तै कुरा गरेका होला्न । तर अहिले हाम्रा माइक्रोइकोनोमिक्स इण्डीकेटरहरु त धेरै पोजिटिभ बनिसकेका छन् । हाम्रो फरेक्सको पाटो राम्रै छ । इम्पोर्टलाई लामो समयसम्म रोक्यौं, अहिले खुलिसकेको छ। अन्य मुख्य इण्डिकेटरहरुमा समस्या छैन । अहिले बैंकहरु आफैं धेरै उत्तेजित नभई लेण्डिङमा फोकस नभएको मात्र त हो नि । हाम्रै बैंकको हेर्नुहुन्छ भने ८५–८६ प्रतिशतको सीडी रेसियो छ । कतिपय विजिनेशहरुले साइकल घुमाउन सकेनन् । ऋणिहरुको क्यास साइकल बिग्रिएको अवस्था मात्र हो । अरु त के नै बिग्रिएको छ र ? हाइड्रोहरु शानदार ढंगले चलेकै छन् । सरकारले गर्नुपर्ने खर्चहरु प्रोपर्ली र टाइम्ली भएको छैन, बिस्तारै सुधार होला । यसमा काम भए इकोनोमी आफैं चलायमान हुन्छ । 

विश्व बजारमा युद्धहरु भए । यस्ता थुप्रै चिजका असरहरु हामीले पनि फिल गरेका छौं । फेरि सबैभन्दा ठूलो कुरा कोरोनाको २ वर्ष भोग्यौं । हामीले धेरै सुविधाहरु दिएर संस्थाहरु बचाएकै हो नि । राष्ट्रबैंकलाई चाहिँ त्यसका लागि धन्यवाद दिनैपर्छ । व्यापारिक वर्गलाई धेरै ठूलो राहात दिएको हो नि ! त्यसपछि अलिकति सहज बनेको वातावरणमा एकैपटक धेरै ग्रोथहरु हुँदा त्यो साइकलले प्रोपर काम नगरेको हुनाले केही समस्या देखिएको हो कि जस्तो लाग्छ । तर, बिस्तारै हामी अरु देशको जस्तो विचलित भइहाल्नुपर्ने अवस्था चाहिँ म देख्दिँन । अप्ठ्यारो अवस्था भन्दाभन्दै पनि हाम्रो बैंकिङ उद्योगले ११ प्रतिशतभन्दा माथिको रिटर्न त गरेकै छ । त्यसलाई त ठीकै मान्नुपर्यो नि । बेस प्राइसमा जसले सेयर बजारमा लगानी गर्नुभएको छ, उहाँहरुले १०–१२ प्रतिशतको रिटर्न पाउँदा गुनासो गरिहाल्नुपर्ने अवस्था होइन कि ! 

तर, कतिपय सेक्टरमा अहिले केही गाह्रो भएको चाहिँ पक्कै हो । बिस्तारै त्यो पनि सहज भएर जान्छ । यो इकोनोमीको एउटा साइकल हो । सधैं पूर्णिमा मात्र कहाँ हुन्छ र, औंशी पनि हुन्छ भन्ने कुरा त स्वीकार्न पर्यो नि । औंशीमै पनि बाँच्न सिक्नुपर्छ । पूर्णिमामा अझै खुशी हुनुपर्छ । आशावादी सोंच राखेर हिँड्नुपर्छ । 

बैंकर(तपाई)हरु राष्ट्रबैंकसँग छलफलमा बस्दा सधैं खराब कर्जाको कुरा गर्ने गर्नुहुन्छ । ‘बैंकहरुको खराब कर्जा अब ह्वात्तै बढ्नेवाला छ, अवस्था निकै सकसपूर्ण हुने अवस्था छ’ भनेर पनि कतिपयले किटान गरिरहेका छन् । अवस्था के हो ? यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?
-खराब कर्जा बढेरै गइरहेको छ । प्रत्येक त्रैमासको रिपोर्ट हेर्दा पनि त्यो ट्रेण्ड देखिन्छ । हाम्रा छरछिमेकका अर्थतन्त्रमा खराब कर्जाको भोल्युम हामीकहाँभन्दा ठूलो देखिन्छ । हामीमा खराब कर्जा छन्, तर आजको दिनसम्म हेर्दा व्यापारीहरुको आन्दोलनले गर्दा तिर्नै नसकेको, अवस्था एकदमै भयावह पो भएको हो कि भन्ने एक किसिमको त्रासको वातावरणको म्यासेज गएको मात्र हो । बरु हाम्रो प्रोफिट्याबिलटीमा गम्भीर असर पर्नेवाला छ। राष्ट्रबैंकले जनतालाई बेनिफिट दिनका लागि बैंकहरुले जनताबाट लिने फी इनकमहरुमध्ये धेरै ठाउँमा रेष्ट्रिक्सन गरिदिएको छ । स्प्रेडको पाटोमा हामी ४ प्रतिशतमा झर्दैछौं । यसकारण बैंकहरुको प्रोफिट्याबिलीटीमा यसले हान्दैछ । धेरै ठूलो भोल्युममा बैंकहरुको नाफा घटिरहेको छ, घट्नेवाला छ । 

एनपिएल बढ्ने सम्भावना वा कारण अर्को पनि छ । यो ९ महिनालाई हेर्नुभयो भने डिपोजिट २०० अर्बले बढेको छ । लोन जम्मा १०० अर्बले बढेको छ । गत वर्ष लोन धेरै बढेको थियो, डिपोजिटको पाटोमा सकस थियो । हामी एकदम लिक्वीडिटी टाइटमा थियौं । लिक्वीडिटी बढी भएको बेलामा लोनहरु फ्लो हुँदा एनपीएलको पाटो केही म्यानेज हुँदोरहेछ । जब तपाई लोन कम दिनुहुन्छ, लोनको फ्लो कम भयो । लुब्रिकेन्ट भएन, अलिक बढी घुमेन, यसका कारण पनि एनपीएल अलिकति बढ्छ कि भन्ने हो । तर एनपीएल अलिकति बढ्दैमा अत्तालिइहाल्नुपर्ने अवस्था हुँदैन । 

हाम्रो करिब ७० प्रतिशत लगानी धितो(सुरक्षण)मा आधारित छ । हामीले ठूलो लगानी ठूलो प्रोजेक्टमा गरेको र त्यो प्रोजेक्ट नै फेल भएको अवस्था पक्कै होइन । साना–साना लोनहरु दिएका छौं । अकिलति महङ्गीका कारण, अलिकति बैंकको ब्याजदर बढेका कारण र अर्को रेगुलर इनकम घटेका कारण मात्र केही सकस भएको होला । अहिलेको अवस्था भनेको इएमआईको भोल्युम बिग्रिदाको परिणाम त हो नि । बजारमा गएको सामान क्यासमा कन्भर्ट नभएको त हो नि, इस्यू यत्ति नै त हो नि । पैसा उठ्ने टाइमिङ केही डिफर भएको मात्र हो, यसमा अत्तालिइहाल्नुपर्ने अवस्था होइन । कोही डराउनुपर्दैन । सानो भोल्युममा एनपीएल देखिरहेको बानी परेका हामीलाई अहिले बढ्दा थोरै बढी पीर मात्र परेको हो । इकोनोमीको साइज ठूलो भइसक्यो । बैंककै लोनको साइज पनि ५० खर्बको भइसक्यो । यस्तो बेलामा एनपीएलको साइज केही बढ्नु अनौठो होइन ।  

पछिल्लो समय केन्द्रीय बैंकबाट बैंकहरुभन्दा बरोअर फ्रेण्ड्ली वातावरण नै बनाइएको जस्तो लाग्छ । किनभने रिबेट दिने काम हामीले नै गर्यौं । क्याप लगाउँदा त्यसको फाइदा पनि बरोअरलाई हुन्छ । लाखौं मानिसले बैंकहरुमा लगानी गरेका छन् । हाम्रै बैंकमा २ लाख मानिसको सेयर छ । उहाँहरुले पनि यहाँको आम्दानीबाट आश गर्नुहुन्छ नि । यो पनि त एउटा लगानीको सेक्टर हो। यसलाई बेवास्ता गर्नुभएन । ठूलो लगानी भएको क्षेत्र यो हो भनेर बुझ्न आवश्यक छ । यसको साइज यति धेरै ठूलो छ, यसलाई खुराक पनि ठूलै चाहिन्छ । त्यसले गर्दा म चाहिँँ आशावादी छु, निराश हुनुपर्ने अवस्था देख्दिँन । 

फेरि हाम्रो अर्थतन्त्र विशेष खालको छ । आज पनि हामी एकहिसाबले आइसोलेसनमै छौं । विश्वमा कहीँ चेञ्ज हुनेबित्तिकै हामीलाई त्यसले हानिहाल्छ भन्ने हुन्न । केही पछाडि हान्ला, तर इमिडिएट्ली हान्छ जस्तो लाग्दैन मलाई । सजग भएर अगाडि बढ्यौं भने हामीसँग सुध्रिने टाइम छ । तर, मितव्ययी हुनुपर्यो, उत्ताउलो हुन भएन । चम्किएर बढ्नु भएन । ओभर फाइनान्सिङ हुनुभएन । यस्ता कुरामा बैंकरहरुले ध्यान दिनुपर्छ । जनताको पैसा चलाउने मान्छे सम्वेदनशील बन्नुपर्छ । एउटा एरियामा नेशनलाई पुग्ने प्रोजेक्टहरु छन् भने फेरि त्यही एरियालाई फोकस गरिदिनुभएन । धेरै कुराहरु छन्, जहाँ हामी सम्हालियौं भने अर्थतन्त्र सम्हालिन्छ । ४३ खर्ब जीडीपी भएको इकोनोमी ठूलो इकोनोमी पनि होइन । 

पछिल्लो समय ब्याजदरको इस्यू निकै पेचिलो बनिरहेको छ । ब्याजदर घट्ने सम्भावना छ कि छैन ? छ भने बैशाखदेखि घट्छ ? कतिसम्म घट्ला ?
-पछिल्लो समय लोनहरु बढिरहेको छैन । बढ्ने अवस्था पनि देखिन्न । फोर्थ क्वार्टरमा बैंकहरु नर्मली कन्सोलिडेसनमा जान्छन, धेरै ग्रोथ गर्दैनन् । अब रेट गिरेको छ । एफडीमा ११ प्रतिशतको रेट आएको छ । बैशाखदेखि त्यसको असर देखिन्छ नै । स्प्रेड पनि चैतबाट ४.२ प्रतिशत गराउने भनिएको छ । एकातिर ब्याजदर घट्ने र अर्कोतर्फ स्प्रेडदर घट्ने पाटो पनि छ । यसको पाटो पनि भएको हुनाले मान्छेलाई महसुस हुने गरी बैशाखदेखि ब्याजदर गिर्ने संकेतहरु देखिन्छ । जसका कारण सेयर बजारजस्ता विभिन्न सेक्टरलाई उत्साहित बनाउने अवस्था बन्छ जस्तो लाग्छ । उत्साहको वातावरण आउँछ जस्तो लाग्छ नयाँ वर्षदेखि । नयाँ वर्ष सकारात्मक संकेत लिएर आउँछ जस्तो लाग्छ । करिब ०.६ देखि अधिकतम १ प्रतिशत  बिन्दुसम्म ब्याजदर घट्नसक्छ । त्यो घट्ने ट्रेण्ड देखिइरहेको छ । ग्रोथ भएन र लोनहरु यस्तै रहिरह्यो भने पैसा त आइरहन्छ, रेमिटान्सको पैसा पनि आइरहन्छ । लिक्वीडिटी सहज हुँदै गयो भने त्यसले ब्याजदर घटाउन अत्यन्त सहयोग गर्छ । त्यसैले पनि म आशावादी छु । निराश हुनुपर्ने अवस्था नै देख्दिँन म । बैशाख कुरौं, धेरै कुरा परिवर्तन हुनेवाला छ । 

तर, बैंकको आम्दानी चाहिँ राम्रै घट्ने देख्छु । सबै बैंकको अवस्था हेर्दा डबल डिजीटसम्मको रिटर्न आयो भने निराश बनिहाल्नुहुँदैन । तर पहिलाको जस्तो २०–२५ प्रतिशतको रिटर्न चाहिँ अब बैंकहरुबाट सम्भव देखिन्न । 

सबै सेक्टरहरु विन–विनको सिचुएसनमा होलाजस्तो लाग्छ । म धेरै आशावादी छु । आशाकै किरण छरेर मैले रणनीतिक योजना बनाएको छु । गर्न सकिन्छ भनेर सोंच राखेर अगाडि बढ्ने हो । बैंकिङ सेक्टर जस्तोसुकै अवस्थामा चाहिने क्षेत्र हो । यसको भविष्य अत्यन्त सुन्दर छ । पहिला पहिला रेगुलेसन पनि थिएन, जसका कारण बैंकको सेयरमा लगानी गर्नेले पनि राम्रै कमाए । तर, अब त्यस्तो कमाई बैंकबाट हुन्न । हामी पनि सजग भएर काम गर्नुपर्छ । यो सेक्टर सेवामुखी क्षेत्र पनि हो ।  राज्यको नीति नियम लागू गरिदिने सेक्टर पनि हो । प्राथमिकताप्राप्त कर्जा लगायतदेखि धेरै सेक्टरलाई प्राथमिकतामा राखेर तोकिएको छ, यसमा पनि बैंकहरुको भूमिका हुन्छ । बैंकमा लगानी गर्नेले राज्यलाई योगदान गरिरहेको ठान्नुपर्छ । नेपालका बैंक सुरक्षित छन् । ३०–४० हजार मानिसले रोजगारी पाएका छन् । विदेश जाने ठूलो संख्यालाई बैंकहरुले रोकेको छ । मलाई लाग्छ, आजको दिनमा बैंक नै भरोसा गर्न लायक क्षेत्र हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shivam Cement

Nepal Investment Mega Bank Limited
CG Motors
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.