काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत भन्सार शुल्क कर लगाएका छन् । यससँगै चीनमाथि अमेरिकी कुल ट्यारिफ १०४ प्रतिशत पुगेको छ । यसको मतलब अब अमेरिका पुग्ने चिनियाँ सामानमा १०४ प्रतिशत आयात शुल्क लगाइनेछ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको हो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक कारबाही गर्ने घोषणा गरेपछि यो कदम चालिएको हो।’
आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि ट्रम्पले सारा विश्वमा कर लगाउने घोषणा गरेपछि चीनमा ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको थियो । अब ५० प्रतिशत महशुल लगाएपछि कुल आयात शुल्क १०४ प्रतिशत पुगेको छ ।
ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नगरे चीनमा थप ५० प्रतिशत कर लगाउने बताएका थिए । ट्रम्पको भनाइमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ब्ल्याकमेललाई स्वीकार नगर्ने र अन्त्यसम्म यसको विरुद्ध लड्ने बताएको छ ।