काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा बिहानदेखि नै लगातार पोस्टहरु सार्वजनिक गरिरहेका महासचिव पोखरेलले ओलीलाई पक्राउ गरेर भद्रकाली लगिएपछि केहीबेरअघि फेरि अर्को पोस्ट राख्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर१’। उनले लेखेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरी दर्जनौ निहत्था नागरिकको ज्यान लिएको घटनामा छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगले दोषी करार गरेपछि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्ना अध्यक्ष पक्राउको विरोधमा एमालेका एकपछि अर्को नेताले विरोध जनाइरहेका छन् ।
आजै एमालेको आकस्मिक सचिवालय बैठक बोलाइएको छ भने त्यसबाट देशव्यापी आन्दोलनको घोषणा गर्न लागिएको नेताहरुले बताएका छन् ।

