काठमाण्डौ। पछिल्लो समय धितोपत्र बोर्ड(सेबोन)मा अध्यक्ष आएपछि आईपीओको बाटो खुलेको छ । लामो समय रोकिएर बसेको आईपीओ, एफपीओ तथा हकप्रद निष्कासनलाई बोर्डले प्राथमिकतामा राखेको बताएको छ । तर बजारमा भने केही लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डले आईपीओ निष्कासनमा पनि झेल गरेको आरोप लगाएका छन् ।
सेयर बजारका चर्चित लगानीकर्ता राजन प्रसाद पौडेलले धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिन पक्षपात गरेको आरोप लगाए । पौडेलले भने ‘ हाल धितोपत्र बोर्डले बिचौलियाको नामबाट चर्चित लगानीकर्ता दीपक भट्टका कम्पनीहरुलाई मात्रै प्राथिमिकतामा राखेर आईपीओ निष्कासनको अनुमति दिन थालेको छ । तिनै कम्पनीको दोस्रो बजारमा उच्च मूल्य पुगेको छ पौडेलले भने ।’
पछिल्लो समय केही लघु बीमा कम्पनीहरुको आईपीओ लगालग निष्कासन भईरहेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्नजय घिमिरेले आईपीओ निष्कासन अनुमतिमा पक्षपात भएको भन्ने आरोपलाई ठाडै अस्वीकार गरे । घिमिरेले भने, ‘हामीले आवश्यक कागजात पेश भएको आधारमा निष्कासनको अनुमति दिने हो । कुनै कम्पनीको आवश्यक कागजात नपुगेमा फेरि माग हुन्छ । माग भएको कागज आएको खण्डमा क्रमबद्ध रुपमा आईपीओ निष्कासनको अनुमति दिइन्छ ।’