काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल(इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आफ्ना केही सदस्यहरुले स्वार्थ समूहको उक्साहटमा बहकिएर आधारहीन आरोप लगाएको बताएका छन् ।
शनिवार बिजशालासँग कुरा गर्दै उनले केही स्वार्थ समूहहरुको उक्साहटमा लागेर केही सदस्यहरुले अरु कतैबाट सुनेको भरमा सेबोन अध्यक्षमाथि आधारहीन आरोप लगाएका र आफूहरुले त्यस विषयमा खोजबिन गर्दा आरोप प्रमाणित हुने कुनै आधार तथा प्रमाणहरु आरोप लगाउनेहरुसँग नरहेको पाइएको समेत खुलाएका छन् ।
'हुँदै नभएको कुरामा मिडियाबाजी गरेर साथीहरुले यस्तो गल्ती गर्नु हुँदैन थियो । प्रमाणबिनाको कुरा कसैले भनेको वा बाटोमा सुनेकै भरमा बोलेर यो हदसम्मको मिडियाबाजी गर्नुहुँदैन थियो ।' डाँगीले भने-'आईपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउने कुरामा सेबोनबाट ढिलासुस्ती भएकै हो । त्यसमा हामीले संस्थागत रुपमै पनि पहल गरिरहेकै थियौं । तर, आईपीओ स्वीकृति नपाएकै झोंकमा कसैको प्रतिष्ठा नै ड्यामेज हुने गरी बोल्नु वा लाग्नु सुनियोजित देखिन्छ । हाम्रा केही सदस्यहरुले आधारहीन कुरालाई लिएर किन यत्रो हंगामा गर्नुभयो भन्ने कुराले हामी आफैं पनि आश्चर्यचकित छौं ।'
'सामान्य सदस्यले मात्र नभई इप्पानकै अध्यक्ष गणेश कार्की समेत त्यस्तो आरोपमा उत्रिनु भयो नि त ? यसको सत्यता चाहिँ के हो ?' भन्ने बिजशालाको प्रश्नमा वरिष्ठ उपाध्यक्ष डाँगीले आफूले पनि यो विषयमा चासो दिएर अध्यक्षलाई सोधेको, तर अध्यक्ष कार्कीले आफूले त्यस्तो आधारहीन आरोप नलगाएको प्रष्टीकरण दिएका दाबी गरे । 'अध्यक्ष यो विषयमा क्लियर हुनुहुन्छ । मैले बोल्दै नबोलेको कुरा मिडियामा आयो भन्ने उहाँको कुरा छ । उहाँले मैले बोलेको होइन र यथार्थ यो होइन भनिसकेपछि कुरै सकियो नि ।' वरिष्ठ उपाध्यक्ष डाँगीले भने-' यहाँ खेल भएको जस्तो लाग्छ । एकातिर सेबोन अध्यक्षलाई बद्नाम गराउने र अर्कोतर्फ इप्पानकै गरिमा समेत धूलिसात बनाउने गेमप्लान एकैपटक भएको देखिन्छ । यसको हामी प्रतिवाद गर्छौ ।'
'हामीले कैयौं पत्रकार सम्मेलन गर्यौं, कत्रा–कत्रा इस्यूहरु उठाइयो, तर कहिल्यै पनि यो लेभलको कभरेज भएन । तर, यहाँ आधारहीन आरोप लगाएकै इस्यूलाई ठूला भनिएका केही मिडियाहरुले निकै ठूलो कभरेज दिए, मेन न्यूज बनाइदिए । यी सबै विषयवस्तु र घटनाक्रमलाई हेर्दा यो सबै सुनियोजित देखिन्छ । यहाँ केही मिडिया पनि सेबोन र इप्पानको प्रतिष्ठा ड्यामेज गर्न हात धोएर लागेका छन् भन्ने देखियो ।'
वरिष्ठ उपाध्यक्ष डाँगी अनौपचारिक छलफलमा केही सदस्यहरुले ‘अरे’को भरमा व्यक्त गरेका आधारहीन कुराहरुलाई सप्रमाण प्राप्त एक्सक्लूसिभ रिपोर्ट झै गरेर मिडियाहरुले किन त्यति धेरै स्पेश दिए भन्ने विषयमा आश्चर्यचकित छन् । 'हामीले कैयौं पत्रकार सम्मेलन गर्यौं, कत्रा–कत्रा इस्यूहरु उठाइयो, तर कहिल्यै पनि यो लेभलको कभरेज भएन । तर, यहाँ आधारहीन आरोप लगाएकै इस्यूलाई ठूला भनिएका केही मिडियाहरुले निकै ठूलो कभरेज दिए, मेन न्यूज बनाइदिए ।' डाँगीले भने-'यी सबै विषयवस्तु र घटनाक्रमलाई हेर्दा यो सबै सुनियोजित भएको देखिन्छ । यो विषयमा इप्पानमा औपचारिक बैठक नै नबसेको अवस्थामा बैठक नै बसेर कमिसन मागेको भन्ने हिसाबले जुन भाष्य निर्माण गर्न खोजियो, यो षड्यन्त्रपूर्ण छ । यहाँ केही मिडिया पनि सेबोन र इप्पानको प्रतिष्ठा ड्यामेज गर्न हात धोएर लागेका छन् भन्ने देखियो ।'
डाँगीले यो प्रकरण बाहिरिएपछि 'के आधारमा यस्तो विषय आयो' भनी आफूले खोजबिन गरेको उल्लेख गर्दै खेलाडीहरुको खेल र समयमै आईपीओको स्वीकृति नपाएको विषयमा केही उर्जा उत्पादकहरुको आक्रोश मिसिएर यस्तो भएको दाबी गरे । 'सन्तोषनारायण जी सेबोन अध्यक्ष भएर आएको ५ महिना मात्र हुँदैछ, उहाँले पनि यो क्षेत्रलाई बिस्तारै बुझ्दै हुनुहुन्छ होला ।' डाँगीले भने-'तर साथीहरुले २२ महिनादेखि आईपीओ रोकिएको विषयमा तारो उहाँलाई बनाए । काममा केही ढिलाई भए पनि हुँदै नभएको होइन । फेरि हामीले संस्थागत रुपमै पनि होस्टेमा हैसे गरिरहेकै थियौं ।'
उनले 'आधारहीन आरोप' लगाएर इप्पानकै प्रतिष्ठालाई समेत आँच आउने काम गर्ने सदस्यहरुमाथि संस्थाले स्पष्टीकरण सोध्ने र आवश्यकता पर्यो भने कारबाही गर्ने दाबी गरे ।
'जस-जसले यस्ता गलत कुराहरु गर्नुभएको छ, उहाँहरु सबैले आत्माआलोचना गर्नुपर्छ ।' इप्पानमा केही महिनापछि अध्यक्षको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका डाँगीले भने -'अध्यक्षले नै कहीँ कतै त्यस्तो बोल्नु नै भएको रहेछ भने पनि उहाँले पनि सच्चिनुपर्छ ।'
एक फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष डाँगीले रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जलविद्युत कम्पनीहरुलाई उत्पादन सुरु भएपछि मात्र आईपीओ जारी गर्न दिने सुझाव बकवास र प्रतिशोधपूर्ण रहेको उल्लेख गर्दै यसलाई अगाडि कार्यान्वयन गर्नुुहुँदैन भनेर सेबोन अध्यक्ष श्रेष्ठले मन्त्रालयसम्म गरेको लविङप्रति आभार प्रकट गरे । 'आयोगले जे सुझाव दिएको छ, यसले त्यहाँका साथीहरु कि त हाइड्रो नै नबुझेका छन् वा धेरै बुझेका छन् भन्ने देखाउँछ ।' डाँगीले भने -'उत्पादन नै सुरु भई आम्दानी नै हुन थालेपछि हाइड्रोलाई किन चाहियो पूँजी ? यति सामान्य विषय समेत आयोगमा रहेकाहरुले नबुझेको देखियो ।'
यसअघि प्रकाशित सम्बन्धित समाचारहरु :
-सेबोन अध्यक्षमाथि कार्यसम्पादनमा ढिलासुस्तीको आरोपको यो आँकडाले गर्छ खण्डन, वास्तविकता यस्तो
-उत्पादन सुरु गरेका हाइड्रोले मात्रै आईपीओ जारी गर्न पाउने, सेबोन अध्यक्षले खोले जवाफी फायर
-धितोपत्र बोर्डमा अख्तियारको टोली, आईपीओको पाइपलाइनमा रहेका कम्पनीको विवरण माग
-‘जसले उर्जा उत्पादकको बर्बादी रोके, उनैमाथि धसियो 'छुरा' !’
-सेबोन अध्यक्षमाथि लागेको आरोपको उर्जा उत्पादकबाटै खण्डन सुरु