सोमबार, आश्विन २७,२०८२ 07:21:55
IME remit
  • सोमबार, आश्विन २७,२०८२ 07:21:55
IME remit
Global IME Bank Limited

आन्दोलनमा सेबोन कर्मचारी र केही लगानीकर्ताबीच साठगाँठ, आफूअनुकुलको अध्यक्ष ल्याउने भन्दै गोप्य अभियानको सुरुवात

Hyundai Nepal
आन्दोलनमा सेबोन कर्मचारी र केही लगानीकर्ताबीच साठगाँठ, आफूअनुकुलको अध्यक्ष ल्याउने भन्दै गोप्य अभियानको सुरुवात
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीका लागि अर्थ मन्त्रालयले असोज २ गते पठाएको चिठी फिर्ता हुनुपर्ने र आफूहरुको हकहितको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने माग राख्दै कामकाज ठप्प पारी आन्दोलन थालेको एक महिना हुन लागिसक्यो । कर्मचारीहरुको निरन्तरको पेनडाउनका कारण पूँजीबजारको प्रमुख नियामक नै अस्तव्यस्त भएपछि यही विषयमा छलफल गर्न र निकास खोज्ने उद्देश्यले आइतबार अध्यक्ष सन्तोषनारायण श्रेष्ठले खुमलटारस्थित कार्यालयमै सञ्चालक समितिको बैठक बोलाए । निर्धारित समयमै बैठकका लागि अध्यक्ष र सञ्चालकहरु पुगे ।  

बैठक सुरु नहुँदै बजार ठूलो अंकले घटेको भन्दै बजार बढाउन, केही विषयहरुमा रातारात सुधार गरिदिन लगायतका माग राख्दै लगानीकर्ताको एउटा समूह धितोपत्र बोर्ड पुग्यो । 

Shivam Cement
Bizshala
CG Motors

बोर्डको सञ्चालक समितिको बैठकअघि त्यहाँ अस्तित्वमा रहेको कर्मचारी संगठन र युनियनले आफ्ना प्रतिनिधिलाई पनि बोर्ड बैठकमा सहभागिता गराउनुपर्ने ग्यारेण्टी खोजेर गलफत्ती गरिरहेका थिए । उनीहरुको प्रतिनिधित्व हुने गरी बैठकमा सहभागी गराउन बोर्ड अध्यक्ष श्रेष्ठ सकारात्मक देखिए पनि सञ्चालकहरुले मानेनन् । अर्थ मन्त्रालयबाट बोर्डको सञ्चालकको रुपमा आइतबारदेखि नै काम सुरु गरेका सहसचिव उत्तरकुमार खत्रीले कर्मचारीलाई बोर्ड बैठकमा राख्न नहुने अडान लिएपछि बाँकी सञ्चालकले केही बोलेनन् र युनियन(कर्मचारी)को मागअनुसार उनीहरुको प्रतिनिधित्वबिना नै बोर्ड बैठक बस्यो ।  

बोर्डले पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनको औपचारिक निर्णय गर्यो । त्योभन्दा बढी समय कर्मचारीहरुको आन्दोलन, उनीहरुको माग र निकासको उपायको विषयमा केन्द्रीत थियो । करिब महिना दिनदेखि कामकाज ठप्प पारेका कर्मचारीहरुलाई वास्तविकतामै मर्का परेको भन्दै अध्यक्ष श्रेष्ठले कुनै न कुनै उपाय निकालेर उनीहरुलाई न्याय दिनुपर्ने र बोर्डको ठप्प बनेको कामकाज पनि खोल्नुपर्ने विषयमा जोड दिइरहेका थिए ।  

‘कर्मचारी र हामीबीच सन्तोषनारायण श्रेष्ठलाई फाल्ने र बोर्डबाटै अध्यक्ष बनाएर काम गराउने सल्लाह भएको छ । तपाईहरुले पनि बजारबाट यो अभियानमा सहयोग गर्नुपर्यो ।’ 

बोर्ड अध्यक्ष श्रेष्ठको बारम्बारको आग्रहको केही सञ्चालकहरुले समर्थन गरेका थिए । तर, अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले कर्मचारीहरुले युनियन वा यस्तै संगठनको नाममा दादागिरी देखाएका उल्लेख गर्दै उनीहरुको दवाबमा आएर कुनै पनि निर्णय गर्न नहुने अडान लिएका थिए ।  

सोही क्रममा उनले अख्तियारको निर्देशनअनुसार धितोपत्र बोर्डमा अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको पत्र पठाइएको उल्लेख गर्दै आफूभन्दा माथिल्लो निकायको निर्णयमा आफूहरुले केही पनि गर्न नसक्ने भन्दै कर्मचारीहरुलाई पेलेरै अगाडि बढ्नुपर्ने विचार राखेका थिए । कर्मचारीहरुले आफ्नो माग राख्ने नाममा अराजकता प्रदर्शन गरेका र यो क्षम्य नहुने भन्दै खत्री आक्रोशित देखिन्थे । उनले यसैगरी कर्मचारीहरुलाई समेत थर्काएका थिए ।  

छलफलकै क्रममा बोर्डमा कर्मचारीहरुको मर्का सम्बोधनका लागि २ सञ्चालक, एक बोर्डकै इडी सहभागी भएको कमिटी बनाउने निर्णय भयो । सो कमिटीलाई बोर्डले सेबोनका कर्मचारीहरुलाई दुईवटा कोष खारेज हुँदा पर्नसक्ने प्रभाव, कर्मचारीहरुको मनोबल उच्च बनाइराख्न दुईवटा कोष खारेज भए पनि त्यस्तै कुनै वैकल्पिक व्यवस्था कार्यान्वयनको सम्भावना, अर्थले पत्र लेखेपछि समाधानको उपायहरु तथा यसमा सेबोनको बोर्डले खेल्नसक्ने कानूनी र जायज भूमिकाको विषयमा विस्तृत अध्ययन गरेर चाँडोभन्दा चाँडो सुझाव दिने म्याण्डेड दिइएको थियो ।  

बोर्डकै तदारुकतामा २ सञ्चालक सहित गठन गरिएको यो कमिटीबाटै कर्मचारीको मर्का सम्बोधन गर्ने निर्णय गरिएको थियो । यो विषय कर्मचारीलाई सुनाएपछि उनीहरुले यसको अर्थ नरहेको भन्दै अस्वीकार गरे ।  

सेबोनका कर्मचारीहरुले आफूहरुलाई मर्का परेको भन्दै बोर्डले नै आफ्नो तर्फबाट कानूनी लडाईको सुरुवात गर्नुपर्ने र अदालतमा रिट दायर गर्नुपर्ने अडान लिएका थिए । तर, बोर्डका अधिकारीहरुले सरकारले गरेको निर्देशन र निर्णयविरुद्ध मातहतको निकायले चुनौति दिने कानूनी आधार नहुने भन्दै त्यसलाई अस्वीकार गरी कर्मचारीहरुलाई गठन भएको कमिटी स्वीकार गर्न र कामकाज खोल्न दवाब दिएका थिए ।  

......त्यसपछि चर्कियो विवाद

बोर्डका अधिकारी र कर्मचारीबीच गलफत्ती चलिरहँदा सेबोन कार्यालय पुग्ने लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेको थियो । लगानीकर्ताहरुलाई बोर्डकै केही कर्मचारीहरुले सञ्चालकहरु बैठक बसिरहेको हल देखाइदिएका थिए ।  

लगानीकर्ताहरु आएर नाराबाजी र होहल्ला सुरु गरेपछि बोर्ड बैठक भइरहेको कार्यकक्षमै अरु सञ्चालकलाई छाडेर अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सम्झाईबुझाई गर्न सेबोन कार्यालयको परिसरमा आएका थिए । सो क्रममा अध्यक्ष श्रेष्ठ र केही लगानीकर्ताको चर्काचर्की पनि परेको थियो ।  

त्यसपछि अध्यक्ष श्रेष्ठले बोर्डकै अर्को एउटा बैठक कक्षमा लगेर लगानीकर्ताहरुको माग सुन्ने र सम्बोधनको आश्वासन दिएका थिए । तर, लगानीकर्ताहरु श्रेष्ठको कुनै पनि कुरा सुन्न तयार थिएनन् । उनीहरुले विभिन्न ११ बुँदे माग राख्दै ती सबै आजै र अहिले नै पूरा हुनुपर्ने भन्दै निरन्तर दवाब दिएका थिए । 

Muktinath Bikas Bank Limited

कर्मचारीले ढोका थुनेपछि.....

बोर्डका अधिकारी र कर्मचारीबीच एकअर्कालाई गलाउने रस्साकस्सी चलिरहेकै बेला बोर्ड बैठकका लागि पुगेर बैठक कक्षमा बसिरहेका धितोपत्र बोर्डका सञ्चालकहरुलाई कर्मचारीहरुले बाहिरबाट ताला लगाइदिएका थिए ।  

रोचक त के भने उनीहरुले ३ जना सञ्चालकलाई बैठक कक्षमै थुन्दा अर्थ मन्त्रालयबाट आएका सहसचिव उत्तरकुमार खत्री भने आफ्नो गाडी बोर्ड परिसरमै छाडेर लुसुक्क त्यहाँबाट भागिसकेका थिए । उनी गाडी नलिई त्यहाँबाट हिँड्नूले समेत लगानीकर्ता र कर्मचारीहरुले त्यसपछि गर्नसक्ने बबण्डरको विषयमा उनी पहिलादेखि नै जानकार थिए कि भन्ने आशंका समेत उब्जिएको छ ।  

खत्री बाहिरिए पनि लगानीकर्ता र कर्मचारीहरुको भावी कदमको विषयमा ३ सञ्चालक बेखबर थिए । सञ्चालक रहेको बैठक कक्षमा जब बाहिरबाट आफ्नै कर्मचारीले ताला लगाइरहेको अध्यक्ष सन्तोषनारायणले देखे, त्यसपछि उनी दौडिएर यो के गरेको ? भन्दै आपत्ति जनाएका थिए । सो क्रममा आफ्नै कर्मचारीसँग पनि श्रेष्ठको गलफत्ती परेको थियो ।  

पछि श्रेष्ठकै समन्वयमा बैठक कक्षको ताला खोलिए पनि लगानीकर्ता र कर्मचारीहरुको बलियो सहकार्यका कारण राति १० बजेसम्म कसैलाई पनि बाहिर निस्किने वातावरण बनाइएन । 

अझ रोचक त के भने धितोपत्र बोर्डका कर्मचारीहरु आफ्ना अध्यक्ष, केही सञ्चालक, केही कार्यकारी निर्देशक र सन्तोषनारायण श्रेष्ठको सचिवालयमा कार्यरत केही कर्मचारीलाई लगानीकर्ताहरुको नियन्त्रणमा राखेर आफू भने लुसुक्क हिँडेका थिए ।  

केही कर्मचारी रातिसम्मै लगानीकर्ताको भेषमा यताउता गरिरहेका लाइभ भिडियोहरुमा देखिएको थियो । त्यहाँ कतिपय कर्मचारीहरुले त माग पूरा नभएसम्म नछाड्न र आफूहरुले समेत साथ दिने भन्दै आक्रोशित मूडमा पुगेका लगानीकर्ताहरुलाई उक्साइरहेका थिए ।  

कर्मचारीहरु नै बोर्ड अध्यक्ष श्रेष्ठ, सञ्चालक र उच्चपदस्थ कर्मचारीको विरुद्धमा प्रस्तुत भएपछि बोर्ड घेराउ गर्न गएका लगानीकर्ताको मनोबल अझ बढेको देखिन्थ्यो । राति छिप्पिदै जाँदा लगानीकर्ताको संख्या बढ्दै गएको थियो भने बोर्डका अधिकारीहरुमाथि दवाब समेत बढिरहेको थियो ।  

यही क्रममा जब लगानीकर्ताहरुले लिखित प्रतिबद्धता बोर्डबाट खोजे, त्यसपछि एउटा वक्तव्य जारी गरिएको थियो । सो वक्तव्यमा उल्लेख भाषा समेत सही नभएको भन्दै बोर्डकै केही कर्मचारीले लगानीकर्तालाई उचालेको भिडियोहरुमा प्रष्ट देखिन्छ।  

यसरी आफ्नै कर्मचारी र लगानीकर्ताहरुको सहकार्यमा अवस्था तनावग्रस्त बन्दै गएपछि र लगानीकर्ताहरुले आक्रमण समेत गर्नसक्ने अवस्था बनेपछि धितोपत्र बोर्डमा खटिएको प्रहरी टोलीका कमाण्डरले बल प्रयोग गर्ने संकेत दिएका थिए । ‘हामी बल प्रयोग गर्न तयार नै थियौं, तर अध्यक्षले नै हिंसातिर नजाऊ भनेपछि हामी पनि संयमित भयौं ।’ सेबोनको सुरक्षार्थ आइतबार राति खटिएका एक प्रहरी अधिकृतले बिजशालासँग भने–‘त्यसपछि हामीले बलियो सुरक्षा घेरा बनाई  अध्यक्ष, सञ्चालकलाई त्यहाँबाट रेस्क्यू गर्ने प्लान बनायौं ।’  

यही प्लानअनुसार बल प्रयोग नगर्ने, बलियो सुरक्षा घेरा बनाई बोर्ड अध्यक्ष श्रेष्ठ र अरु ३ सदस्यलाई रेस्क्यू गरिएको थियो । रेस्क्यू गरिएका चारैजनालाई सात दोबाटो प्रहरीमा लगेर राति आधाघण्टासम्म राखिएको थियो । त्यसपछि घर जान दिइएको थियो ।  

घटना सुनियोजित थियो ?

आइतबार लगानीकर्ताहरु बोर्ड घेर्न जाँदैछन् र त्यहाँ अशान्त अवस्था हुनसक्छ भन्ने विषयको जानकारी प्रहरीलाई दिउँसै आएको थियो । सो सूचना प्रहरीले सेबोन अध्यक्ष श्रेष्ठलाई पनि बेलैमा दिएको थियो । तर, अध्यक्ष श्रेष्ठले कर्मचारीहरुको हितको विषयमा निर्णय गर्ने गरी अर्जेन्ट बोर्ड बैठक रहेको र आफूहरुले लगानीकर्ताको पक्षमै काम गरिरहेको भन्दै उनीहरु(लगानीकर्ता) आउँदा केही फरक नपर्ने र आफूहरु त्यसको ट्याकल गर्न तयार रहेको सन्देश पठाएका थिए ।  

‘उहाँलाई हामीले त्यस्तो अर्जेन्ट बैठक भए बाहिरै गर्न पनि भनेका थियौं, तर मान्नुभएन ।’ एक प्रहरी अधिकारीले भने –‘उहाँले नमाने पनि हामीले बेलैदेखि सेबोन आसपासको सुरक्षा व्यवस्था र मानिसको चहलपहललाई मिहीन ढंगले अध्ययन गरिरहेका थियौं र सोहीअनुसारको सुरक्षा नीति बनाएका थियौं।’ 

प्रहरी अधिकारीहरुले घटनाको प्रकृति हेर्दा सेबोनका कर्मचारी र बोर्डमा हिजो आएका केही लगानीकर्ताबीच साँठगाँठको आशंका गर्न सकिने प्रशस्त आधारहरु रहेका दाबी गरेका छन् । लगानीकर्ताहरु आएपछि सो समूहलाई उत्तेजित बनाउन कर्मचारीले सञ्चालक बसेको ढोकामा बाहिरबाट लक गर्नु, लगानीकर्ताहरुलाई उनीहरुले राख्ने मागको विषयमा कर्मचारीले नै बेला–बेला सिकाउनु, सेबोन परिसरमा आएर कतिपय लगानीकर्ताहरुलाई ‘यिनीहरुले काम गर्न सक्दैनन्, ठोक्नैपर्छ, नछाड्नू’ भनेर केही कर्मचारीले उचाल्नु लगायतका घटनाक्रमले समेत घटना सुनियोजित थियो कि भन्ने आशंका गर्न सकिने प्रहरीको विश्लेषण छ ।

ती प्रहरी अधिकारीले आइतार राति सेबोनका कर्मचारीहरुले आफ्ना अध्यक्ष, सञ्चालक र हाकिमप्रति देखाएको अनुदार व्यवहारको समेत आलोचना गरेका छन् । ‘यो त आफ्नै घर जलाएर खरानी ताप्ने पारा पो भयो ।’ ती प्रहरी अधिकारीले भने–‘ अध्यक्ष श्रेष्ठलाई भोलिका दिनमा समेत असुरक्षा कतैबाट छ भने आफ्नै कर्मचारीबाट बढी रहेको देखियो । यो विषयमा उहाँ पनि सम्वेदनशील बन्नुपर्छ ।’

त्यसो त प्रहरीले रेस्क्यू गरी सातदोबाटो प्रहरी कार्यालयमा पुर्याइएका बोर्डका सञ्चालकहरुले पनि कर्मचारीको व्यवहारप्रति प्रश्न उठाएका थिए । उनीहरुले घरभित्र जति नै ठूलो झगडा भए पनि बाहिरको मान्छे आउँदा एकताबद्ध भएर त्यसको ट्याकल गर्नुको साटो आफूहरुलाई नै अप्ठ्यारो पार्ने गरी कर्मचारी प्रस्तुत भएका र आफूहरुलाई बिनाकारण थुनेका भन्दै खिन्न देखिन्थे । ‘केहीबेरअघि भएको बोर्ड बैठकमा हामी चाहिँ उहाँहरुलाई अन्याय परेको छ भन्दै कमिटी बनाउने र न्यायका लागि कुनै मार्ग खोज्ने विषयमा चिन्तित थियौं ।’ एक सञ्चालकको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो–‘तर कर्मचारीहरुको योजना अर्कै रहेछ । हामीलाई रातको समयमा बोर्डमा आगो लगाउने, आक्रमण गर्नेसम्मको धम्की समेत दिइयो । जसका लागि भनेर आइतबार बैठक बसियो, उनीहरुले नै हामीलाई ज्यानकै असुरक्षा हुने काम गरे । अचम्म लागेको छ ।’    

के भन्छन् लगानीकर्ता ?

तर, हिजो त्यहाँ गएका लगानीकर्ता भने आफूहरुको कुनै पनि गठजोड कर्मचारीसँग नरहेको र स्वस्फूर्त आफूहरु बोर्ड गएको दाबी गरेका छन् । 'हामी आफ्ना माग लिएर त्यहाँ गएका थियौं । कर्मचारीहरु पहिलादेखि नै आन्दोलनमा हुनुहुँदो रहेछ ।' एक आन्दोलनकारी लगानीकर्ताले भने-'तपाईले भनेजस्तो कुनै पूर्व योजना थिएन । कर्मचारी र लगानीकर्ताको आन्दोलन सँगै हुँदा यिनीहरुबीच मिलेमतो छ कि भन्ने देखियो भने पनि त्यो संयोग मात्र हो ।'  

बोर्ड अध्यक्ष फेर्नेसम्मको योजना !

आइतबार राति १० बजेसम्म धितोपत्र बोर्ड गएर अध्यक्ष, सञ्चालक र उच्चपदस्थ केही कर्मचारीलाई थुन्ने तथा अबेर रातिसम्म प्रदर्शन गर्ने कार्यको नेतृत्व गर्नेमध्येका एक लगानीकर्ताले सोमबार बिहानैदेखि बजारका केही सरोकारवालासँग ब्याक टू ब्याक बैठक र छलफल गरिरहेका सूचना समेत प्राप्त भएको छ । त्यस्तो छलफलमा सहभागी एक ब्रोकर प्रतिनिधिका अनुसार लगानीकर्ताका ती नेताले हिजोको आन्दोलनमा आफूहरु र सेबोनका कर्मचारीबीच सहकार्य भएको, सल्लाहमै आफूहरु त्यहाँ गएको र अब आफूहरुले धितोपत्र बोर्डको अध्यक्ष फेर्नेसम्मको प्लान सुनाएका थिए ।  

‘कर्मचारी र हामीबीच सन्तोषनारायण श्रेष्ठलाई फाल्ने र बोर्डबाटै अध्यक्ष बनाएर काम गराउने सल्लाह भएको छ । तपाईहरुले पनि बजारबाट यो अभियानमा सहयोग गर्नुपर्यो ।’ हिजोको आन्दोलनमा फ्रन्टलाइनमा सुरुवातदेखि नै देखिएका ती लगानीकर्ताको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘हिजोको घटना नियोजित नै रहेको देखियो । अर्थमन्त्रालय समेत सन्तोषनारायणको पक्षमा नरहेको मौका छोपेर यहीबेला उनलाई पदबाट हटाउने र आफूअनुकुलको पात्रलाई बोर्ड अध्यक्ष बनाएर स्वार्थको रोटी सेक्ने काम हुँदै रहेछ ।’  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.