मंगलवार, श्रावण १२,२०८३ 10:29:31
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:29:31
Bizshala
Global IME Bank Limited

सेयरका ठूला खेलाडी तथा उद्योगी शेखर गोल्छालाई अदालतको राहत, अरबमाथिको दुई कसुरमा एक करोड धरौटी

सेयरका ठूला खेलाडी तथा उद्योगी शेखर गोल्छालाई अदालतको राहत, अरबमाथिको दुई कसुरमा एक करोड धरौटी
New Office

काठमाण्डौ । नेपाली सेयर बजारका ठूला लगानीकर्ता तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले कुल एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छाको आर्थिक तथा व्यावसायिक हैसियतको तुलनामा सामान्य मानिएको धरौटी रकम बुझाएपछि उनी थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका हुन्।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार थुनछेक बहसपछि गोल्छासँग दुई अलग-अलग कसुरमा छुट्टाछुट्टै धरौटी माग्ने आदेश गरेको हो।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गोल्छासँग बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी मागिएको छ। दुवै मुद्दाको धरौटी जोड्दा उनले कुल एक करोड रुपैयाँ बुझाउनुपर्नेछ।

गोल्छा नेपाली उद्योग–व्यवसाय क्षेत्रका स्थापित नाम हुन्। गोल्छा अर्गनाइजेसनको नेतृत्वमा रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका निवर्तमान अध्यक्षसमेत हुन्। उद्योग–व्यवसायसँगै नेपाली पुँजीबजारमा समेत उनको ठूलो लगानी र प्रभाव रहेको मानिन्छ।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वैशाख १० गते नियन्त्रणमा लिएको थियो। नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। उनीमाथि बिमासम्बन्धी कसुरमा पनि छुट्टै अनुसन्धान भएको थियो। सीआईबी र सार्वजनिक विवरणअनुसार अनुसन्धान धितोपत्र तथा बिमासम्बन्धी कारोबारसँग जोडिएको छ।

यसअघि गोल्छाले धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पाँच लाख रुपैयाँ धरौटी बुझाएका थिए। त्यसलगत्तै उनलाई बिमासम्बन्धी कसुरमा पुनः नियन्त्रणमा लिइएको थियो। पछिल्लो आदेश भने दुवै कसुरमा अभियोग दर्ता भएपछि भएको थुनछेक बहससँग सम्बन्धित छ।

अदालतको आदेशले गोल्छालाई आरोपबाट सफाइ दिएको भने होइन। एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेशसँगै उनले अब थुनाबाहिर बसेर दुवै मुद्दाको न्यायिक प्रक्रिया सामना गर्नेछन्। अभियोग प्रमाणित हुने वा नहुने विषय मुद्दाको अन्तिम फैसलाबाट टुंगिनेछ। अदालतको आदेशसम्बन्धी विवरण अनुसार धरौटी निर्धारण भए पनि मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.