काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङवापत झण्डै ६ अर्ब रुपैयाँ सञ्चित गरेका छन् । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ९२ करोड २३ लाख रुपैयाँ रिटेन्ड अर्निङवापत सञ्चित गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २.०४ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङमा ६ अर्ब ४ करोड ५४ लाख रुपैयाँ छुट्याएका थिए ।
बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश बाँडिसकेपछि बाँकी बचत रकम वा लाभांश नबाँडिकन बचत गरिएको रकम नै रिटेन्ड अर्निङ हो ।
कम्पनीले भविष्यको विस्तार, ऋण भुक्तानी वा आपतकालीन अवस्थामा प्रयोग गर्न यस्तो रकम सञ्चित गरि राखिएको हुन्छ । बीमा कम्पनीहरुले आफ्नो ब्यालेन्स सिटको ‘सेयरहोल्डर्स इक्विटी’ अन्तर्गत यस्तो रकम छुट्याएको हुन्छ ।
जस्तै, बीमा कम्पनीले एक वर्षमा १० करोड रुपैयाँ नाफा कमाउँछ र त्यसमध्येबाट ४ करोड रुपैयाँ सेयरधनीलाई बाँड्नका लागि छुट्याउँछ भने बाँकी रहेको ६ करोड रुपैयाँ कम्पनीको लागि रिटेन्ड अर्निङ हो । कुनै–कुनै कम्पनीले सेयधरनीहरुलाई सो वर्ष लाभांश नबाँडिकन सबै रकम रिटेन्ड अर्निङमार्फत पनि सञ्चित गर्न सक्दछ ।
सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले हालसम्म सेयरधनीहरुलाई कुनै लाभांश दिएको छैन, जसकारण तेस्रो त्रैमाससम्म पनि कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ४६ करोड भन्दा बढी छ ।
बीमा कम्पनीहरुले प्रत्येक त्रैमाससम्म आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम रिटेन्ड अर्निङमा छुट्याएका हुन्छन् । आर्जित खुद मुनाफाको केही प्रतिशत रकम सेयरधनीलाई बाँड्न र बाँकी रहेको रकम रिटेन्ड अर्निङका लागि छुट्याइएको हुन्छ । यस्तो रकम भविष्यमा जोखिम कभर गर्न वा दाबी भुक्तानी दिन र व्यवसाय विस्तार गर्ने प्रयोजनका लागि कम्पनीहरुले सञ्चित गरेको हुन्छ ।
बीमा कम्पनीहरुले ठूलो संख्यामा बीमा दाबी भुक्तानी दिनुपर्ने हुन सक्छ । जसकारण बीमकहरुले प्रिमियमबाट संकलन गरिएको केही रकमको हिस्सा रिजर्भमा राख्छन् र बाँकी रकम लगानीमार्फत आम्दानी गरेर नाफा आर्जन गर्छन् । जसलाई कम्पनीहरुले केही हिस्सा रकम रिटेन्ड अर्निङको रुपमा राखेर भविष्यको वित्तीय सुरक्षा सुनिश्चित गरेका हुन्छन् ।
चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले रिटेन्ड अर्निङवापत २ अर्ब ४६ करोड २५ लाख रुपैयाँ सञ्चित गरेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरले ६८ करोड ४८ लाख, नेको इन्स्योरेन्सले ६७ करोड ६१ लाख, प्रभु इन्स्योरेन्सले २९ करोड १ लाख, सानिमा जिआइसीले २८ करोड ९६ लाख, हिमालयन एभरेष्टले २४ करोड ५ लाख, युनाइटेड अजोडले १६ करोड ५८ लाख, शिखरले १६ करोड २३ लाख, आइजीआई प्रुडेन्सियलले १२ करोड ५२ लाख, एनएलजीले ११ करोड १६ लाख र नेपाल इन्स्योरेन्सले ८ करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ ।