काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा हाइड्रो सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । केही दिनयता हाइड्रो कम्पनीहरुको कारोबारमा उल्लेख्य बृद्धि देखिएको छ ।
नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । सूचीकृत समूहमा हाइड्रो सेक्टरका कम्पनीहरुको संख्या धेरै भएकाले पनि यो समूहको कारोबार उच्च देखिन्छ ।
बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुँदा धेरैले हाइड्रो कम्पनीहरु नै छान्ने गरेको पाइन्छ । सर्ट टर्म वा मिड टर्मका लागि हाइड्रो कम्पनी नै उपयुक्त हुने लगानीकर्ताहरुको भनाई छ ।
यतिबेला बजारमा हाइड्रो कम्पनीहरुको निकै चर्चा छ । केही हाइड्रो कम्पनीको हकप्रद सेयर आउने हल्लाले सेयरमूल्यमा समेत चलखेल भइरहेको बजार जानकारहरुको अनुमान छ ।
नेपाल धितोपत्र बोर्डसँग हकप्रद सेयर निष्कासनको लागि अनुमति माग्ने हाइड्रो कम्पनीहरुको संख्या ७ छन् । त्यसो त केहीले विद्युत नियमन आयोगबाट हकप्रदको स्वीकृति पाएपनि धितोपत्र बोर्डमा निवेदन दिन बाँकी नै छन् ।
तर अहिले सेबोनको पााइपलाइनमा ७ वटा कम्पनी मात्रै हकप्रद निष्कासनको स्वीकृतिको पर्खाइमा छन् । सबै हाइड्रो कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेका छन् ।
७ कम्पनीले कुल ४ अर्ब ८५ करोड ७४ लाख ७१ हजार रुपैयाँ बराबरको कुल ४ करोड ८५ लाख ७४ हजार ७११ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेका छन् । सबैभन्दा धेरै शिवश्री हाइड्रोले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।
