काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीहरुको साधारण सेयरको प्राथमिक निश्कासन(आईपीओ)को प्रक्रियालाई अहिलेको तुलनामा करिब १५ दिनले छोट्याउने भएको छ ।
आईपीओ निश्कासनको पट्यारलाग्दो अवधिलाई कम्तीमा १५ दिनले छोट्याउने गरी सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौं संशोधनलाई पुनः संसोधन गर्न लागेको हो ।
सेबोनको आगामी साता बस्ने बोर्ड बैठकले आईपीओ निश्कासनको प्रक्रियालाई छोट्याउने विषय पारित गर्नेछ । त्यसबाहेकका बाँकी सबै गृहकार्य पूरा भएको बोर्डस्थित उच्च स्रोतले जानकारी दियो ।
धेरै कम्पनीहरुको आईपीओ पाइपलाइनमा रहेको र तिनको स्वीकृतिलाई पनि तीव्र पार्नुअघि सेबोनले समग्र प्रक्रियालाई नै छोट्याउने विषयलाई टुंग्याउन लागेको हो ।
यही नीतिअन्तर्गत आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आवेदन दिनका लागि पाउने अवधिलाई पनि छोट्याएर सर्वसाधारणलाई झै ४ दिन मात्र उपलब्ध गराइने नयाँ व्यवस्था हुनेछ । चार दिनभित्र कुनै कम्पनीको आईपीओ नबिके अरुलाईजस्तै वैदेशिक रोजगारीमा रहेकाले समेत थप १५ दिन समय पाउनेछन् ।
हालको व्यवस्थाअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आईपीओ (प्राथमिक शेयर निष्कासन) भर्नका लागि सुरुमै १५ दिनको आवेदन अवधि पाउँछन् ।
नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार, कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कम्तीमा १० प्रतिशत शेयर आरक्षित गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गर्ने गरिन्छ।