काठमाण्डौ । अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने भएको छ । सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।
यस्तै अब दैनिक दुई चरण (सिफ्ट) मा धरहरा खुला गरिने भएको छ । अहिले धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला हुँदै आईरहेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
पुनर्निर्माणपछि गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि स:शुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहराको अवलोकन गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको छ । उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ ।