काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेखको संख्या अर्थात् पोलिसी नविकरण नगर्नेको संख्या चुलिँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा व्यतित भएका बीमालेखको संख्या १२ लाख ४३ हजार ७६९ पुगेको छ ।
यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवमा जीवन बीमा कम्पनीहरुमा यस्तो संख्या ११ लाख ४३ हजार ४७८ रहेको थियो ।
जीवन बीमकहरुमा यसरी कुल जारी बीमालेखमा व्यतित बीमालेखको संख्या थुप्रिदै जाँदा कम्पनीहरुको व्यवसायमा धक्का पुग्ने देखिएको छ । सो अवधिसम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा बीमालेख बराबरको कुल १३ अ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा यता ३६ अर्ब ५१ करोड ४७ लाख रुपैयाँ बराबरको पोलिसी ल्याप्स भएका छन् ।
यो व्यतित भएको बीमालेख रकम सरेण्डर भएको बीमालेख रकम भन्दा १६९.६५ प्रतिशत बढी हो । यसरी सरेण्डरमार्फत र व्यतित भएर अर्बौ रकम बाहिँरिदा र ल्याप्स हुँदा जीवन बीमकहरुको व्यवसाय खुम्चिने प्रबल सम्भावना देखिएको छ ।
गत आवको तुलनामा व्यतित बीमालेख रकम १०.५४ प्रतिशतले बृद्धि भएको छ । गत आवको जेठ मसान्तसम्म व्यतित बीमालेख रकम ३३ अर्ब ३ करोड २० लाख रहेको थियो ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा पोलिसी नविकरण नगर्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ । विशेषतः कम्पनी र बीमा अभिकर्ताहरुले अधिकतम बोनसको प्रलोभन देखाएर बीमितको आर्थिक हैसियतको मूल्यांकन नगरी बीमा गराउने प्रचलनले पछिल्लो समय बीमा पोलिसी सरेण्डरदर र नविकरण नगर्ने संख्या बढ्दै गएको हो ।
बीमा विज्ञहरुका अनुसार अभिकर्ताहरुले कमिसनको लोभमा बीमितको वित्तीय क्षमता मूल्यांकन नगरी बीमा गराउने प्रवृत्तिले यस्तो अवस्था निम्त्याएको देखिन्छ । साथै बीमा कम्पनी र अभिकर्ताहरुले कम्पनीले वितरण गर्ने अधिकतम बोनस देखाएर न्यूनतम बोनस पाउने बीमा पोलिसी बिक्री गर्ने प्रवृत्तिले पनि बीमा क्षेत्रमा यस्तो दर बढ्दै जानुको कारण हो ।
बीमा कम्पनीहरुले व्यतित भएका बीमालेख नविकरणका लागि विभिन्न खालका स्किमहरु ल्याएपनि त्यस्ता योजनाले कुनै प्रभाव पार्न सकेको छैन । कम्पनीहरुले व्यतित भएका पोलिसीहरु रिन्यु गर्दा शतप्रतिशत छुट दिने जस्ता योजनाहरु ल्याएपनि बीमितहरुले यस्ता छुट तथा अवसरमा चासो राख्दैनन् । यस्तो अवस्था न्यूनीकरण गर्न बीमा कम्पनीहरुले बीमा गराउँदै बीमितको वित्तीय अवस्था र मनसाय बुझेर मात्रै बीमा गराउनुपर्ने विज्ञहरुको भनाई छ ।