काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको विश्व चर्चित शहर न्यूयोर्कको मेयरमा डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी निर्वाचित हुने पक्पापक्की भएको छ । नोभेम्बर ४ मा भएको निर्वाचनमा उनको जित निश्चित मानिएको छ ।
सीबीएसका अनुसार ३४ वर्षीय ममदानी न्यूयोर्कको सबैभन्दा कान्छा र १०० वर्षे इतिहासमा पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर हुनेछन्। ममदानीको जित पक्का हुनासाथ उनका समर्थकहरु खुसीले उफ्रिएर उत्सव मनाउन थालेका छन् ।
जोहरान क्वामे ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। ममदानीको बुबाले उनलाई क्रान्तिकारी र घानाका पहिलो प्रधानमन्त्री क्वामे एनक्रुमाहको नाममा मध्य नाम ‘क्वामे’ दिएका थिए । ममदानी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रोफेसर महमूद ममदानीको छोरा हुन्।
उनले आफ्नो प्रारम्भिक दिन कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका आएका थिए । ममदानीका भारतीय मूलका पिता महमूद ममदानी केप टाउन विश्वविद्यालयका प्राध्यापक थिए।

