काठमाण्डौ । आफूलाई सन् २७१४ बाट आएको ‘टाइम ट्राभलर’ दाबी गर्ने एक व्यक्तिले सन् २०६१ मा विश्वभर विनाशकारी महामारी फैलिने दाबी गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
टिकटक प्रयोगकर्ता एरी योर्मानीले आफू भविष्यबाट आएको भन्दै सन् २०६१ मा प्रयोगशालामा बनाइएको कृत्रिम भाइरस देखा पर्ने दाबी गरेका छन्। उनका अनुसार उक्त भाइरसले विश्वका सबै मानिसलाई संक्रमित गर्नेछ र यसको मृत्युदर ३० प्रतिशतसम्म पुग्नेछ। उनले यसलाई मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी हुने बताएका छन्।
उनले २१औँ शताब्दीलाई ‘द ग्रेट रिसेट’ को समयका रूपमा उल्लेख गर्दै भविष्यमा कृत्रिम रूपमा बनाइएको भाइरसका कारण ठूलो संकट आउने दाबी गरेका छन्। उनको भनाइअनुसार उक्त समयमा पृथ्वीलाई ढाक्ने किसिमको कृत्रिम बादल समेत सिर्जना हुने दाबी गरिएको छ।
यो भिडियो टिकटकमा लाखौँ पटक हेरिएको र हजारौँ प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्। यसअघि पनि आफू भविष्यबाट आएको दाबी गर्ने यस्ता सामाजिक सञ्जाल खाताहरूले विभिन्न भविष्यवाणी गर्दै आएका छन्, तर ती दाबीहरू प्रमाणित नभएको र धेरै प्रयोगकर्ताले शंकाको दृष्टिले हेरेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार भविष्यमा नयाँ भाइरस वा महामारीको जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन। तर कुनै निश्चित वर्षमा कुन भाइरस देखा पर्नेछ, त्यसको संक्रमण दर वा मृत्यु दर कति हुनेछ भन्ने कुरा अहिले नै प्रमाणित रूपमा भविष्यवाणी गर्न सम्भव छैन।
यसैबीच, विश्वका विभिन्न स्थानमा देखिएका बर्ड फ्लुका घटनाले वैज्ञानिक र स्वास्थ्य निकायहरूलाई सतर्क बनाइरहेका छन्। विज्ञहरूले नयाँ संक्रामक रोगको निगरानी, अनुसन्धान र तयारीलाई निरन्तर प्राथमिकता दिनुपर्ने बताएका छन्।

