शुक्रबार, श्रावण १५,२०८३ 06:21:05
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 06:21:05
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको झण्डै ३०% हिस्सा, बजेटको बोनसले थप्यो आशा

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको झण्डै ३०% हिस्सा, बजेटको बोनसले थप्यो आशा
New Office

काठमाण्डौ । नेपालका निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको वर्चस्व छ । सवारीसाधनको संख्या बढ्दै जानु, तेस्रो पक्ष (थर्ड पार्टी) बीमा अनिवार्य हुनु तथा नयाँ सवारी खरिदसँगै बीमा गर्ने प्रवृत्तिका कारण निर्जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलनमा मोटर बीमाले सबैभन्दा ठूलो योगदान दिइरहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरुले ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।  

जसमा बीमकहरुले मोटर बीमा व्यवसायबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् । यो रकम कुल बीमाशुल्कको २९.८२ प्रतिशत हिस्सा हो ।  

निर्जीवन बीमा क्षेत्रमा आगलागी, इन्जिनियरिङ, समुद्री, कृषि, स्वास्थ्य तथा विविध बीमा सेवा उपलब्ध भए पनि अधिकांश कम्पनीको व्यवसाय अझै मोटर बीमामै केन्द्रित देखिन्छ । मोटर बीमाबाट नियमित रूपमा प्रिमियम संकलन हुने भएकाले कम्पनीहरूको नगद प्रवाह र व्यवसाय विस्तारमा यसले महत्वपूर्ण भूमिका खेलेको बीमा विज्ञहरु बताउँछन् ।

मोटर बीमा अनिवार्य प्रकृतिको भएकाले यसको बजार स्थिर हुने विज्ञहरुको भनाई छ । साथै नयाँ सवारीसाधनको बिक्री, बैंक तथा वित्तीय संस्थाबाट हुने सवारी कर्जा र बीमा नवीकरणको उच्च दरले पनि मोटर बीमा व्यवसायलाई बलियो बनाइरहेको छ । अर्कोतर्फ, सम्पत्ति, कृषि तथा अन्य ऐच्छिक बीमामा अपेक्षाकृत कम पहुँच हुँदा निर्जीवन बीमा कम्पनीहरू मोटर बीमामै बढी निर्भर हुन बाध्य समेत भएका छन् ।  

यद्यपि, मोटर बीमामा अत्यधिक निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने विश्लेषकहरूको भनाइ छ । सडक दुर्घटना बढ्दा दाबी भुक्तानीको भार पनि बढ्ने भएकाले जोखिम व्यवस्थापन र पुनर्बीमा व्यवस्था प्रभावकारी हुनुपर्ने बीमा विज्ञहरुको भनाई छ ।  

साथै निर्जीवन बीमा व्यवसायलाई थप दिगो र सन्तुलित बनाउन मोटर बीमामा मात्र निर्भर रहने प्रवृत्ति घटाई कृषि, सम्पत्ति, स्वास्थ्य, दायित्व तथा विपद् जोखिमसम्बन्धी बीमा उत्पादनको पहुँच विस्तार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीहरूको जोखिम विविधीकरण हुनुका साथै बीमा पहुँच पनि व्यापक हुने देखिन्छ ।  

निर्जीवन बीमा व्यवसायलाई ‘बजेट बोनस’

सरकारले आर्थिक वर्ष २०८३/८४ देखि सवारीसाधनको तेस्रो पक्ष बीमाअन्तर्गत क्षतिपूर्ति सीमा वृद्धि गरेको छ । सरकारले यहि आवदेखि तेस्रो पक्ष बीमाको क्षतिपूर्ति सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पु¥याउने व्यवस्था गरेको हो ।

क्षतिपूर्ति सीमा बढेसँगै बीमा प्रिमियम दरमा समेत वृद्धि गरिएको छ । नेपालमा सबै सवारीसाधनका लागि तेस्रो पक्ष बीमा अनिवार्य भएकाले बीमांक रकम वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन र व्यवसायको आकार विस्तार हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा समेत निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा धेरै थियो । अझै बजेटको बोनसले यो आवमा समेत निर्जीवन बीमा व्यवसायमा मोटर बीमा व्यवसायको हिस्सा ‘बुस्ट’ हुने देखिन्छ ।  

बीमा व्यवसायको वृद्धि नयाँ सवारीसाधनको बिक्री, यातायात क्षेत्रको विस्तार, दाबी व्यवस्थापन क्षमता र समग्र आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । सवारी आयात तथा बिक्रीमा कमी आएमा वा अर्थतन्त्र अपेक्षाअनुसार विस्तार हुन नसकेमा प्रिमियम दर वृद्धि मात्रै पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।

त्यस्तै, बीमांक रकम बढेसँगै कम्पनीहरूको दाबी दायित्व पनि बढ्न सक्ने भएकाले जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

विश्लेषकहरूका अनुसार तेस्रो पक्ष बीमाको सीमा वृद्धि निर्जीवन बीमा क्षेत्रका लागि सकारात्मक अवसर भए पनि यसको वास्तविक प्रभाव कम्पनीहरूको व्यवसायिक रणनीति, दाबी व्यवस्थापन र बजार विस्तार क्षमतामा निर्भर रहनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.