काठमाण्डौ । सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरस्थित न्यूरो अस्पतालबाट निकालिएको छ।
पीडित परिवार र सरकारबीच शुक्रबार बिहान सातबुँदे सहमति भएपछि मृतकका आफन्त शव बुझ्न तयार भएका हुन्। आफन्त अस्पताल पुगेपछि दुवै जनाको शव अस्पतालबाट निकालिएको प्रहरीले जनाएको छ।
ओमप्रकाश र जयप्रकाशको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिनेछ। पोस्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।
गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि पीडित परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, क्षतिपूर्ति तथा मृतक परिवारको सुरक्षालगायतका माग राख्दै शव बुझ्न अस्वीकार गर्दै आएका थिए।
सरकार र पीडित पक्षबीच सहमति जुटेसँगै शव पोस्टमार्टम तथा अन्त्येष्टिको प्रक्रिया अघि बढेको हो।

