काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । यससँगै ४ हजार डलर प्रतिऔंसको स्तर आसपास देखिएको खरिद चापका कारण सुन पाँच महिनापछि पहिलोपटक मासिक वृद्धितर्फ अघि बढेको छ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.९१ प्रतिशत अर्थात ३६ डलरले बढेर प्रतिऔंस ४ हजार ७६ डलर पुगेको छ । साप्ताहिक आधारमा भने सुन करिब ०.६ प्रतिशतले बढ्ने क्रममा छ भने यो महिनामा करिब १.७ प्रतिशतको वृद्धि देखिएको छ।
बिहीबार अमेरिकी डलर सूचकांकमा सन् २०२३ जनवरीयताकै ठूलो एकदिने गिरावट आएको थियो। त्यस दिन डलर करिब २.४ प्रतिशतले कमजोर बनेको थियो भने आज सुनको भाउमा सुधार देखिएको छ । बलियो डलरले अन्य मुद्रामा खरिद गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य निर्धारण हुने वस्तु महँगो बनाउने गर्छ।

