काठमाण्डौ । पछिल्लो समय नेपाली अटो बजार इलेक्ट्रिक गाडी (इभी)मय बनेको छ । सरकारको नीति, कम कर दर, बैंक फाइनान्सिङ तथा वातावरणमैत्री उर्जा स्रोतले इभीप्रति आकर्षण बढ्दै गइरहेको छ ।
गत आर्थिक वर्षमा विभिन्न ब्राण्डका करिब १० हजार इभी भित्रिएका छन् । नेपाली अटो बजारको पछिल्लो अवस्थाअनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारी साधन रहेका छन् ।
नयाँ बिक्री हुने विद्युतीय सवारीमा धेरैजसो भारतीय कम्पनी टाटा मोटर्स र चिनियाँ कम्पनी बीवाइडीका गाडीहरु रहेका छन् । यी दुई कम्पनीबीच इभी बिक्रीमा चर्को प्रतिस्पर्धा समेत देखिएको छ ।
आव २०८१/८२ मा सबैभन्दा बढी टाटा मोटर्सले २ हजार ७७९ युनिट इभी नेपाल भित्र्यााएको छ । नेपाली अटो सेक्टरमा विशिष्ट पकड बनाएको टाटा मोटर्सले एक वर्षमा झण्डै तीनहजार युनिट विद्युतीय सवारी भित्र्याई रेकर्ड राख्न सफल भएको हो ।
अघिल्लो आवमा भने टाटाका गाडीको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङले एक हजार ९०३ युनिट गाडी भित्र्याएको थियो ।
त्यस्तै, दोस्रोमा बीवाइडीले पनि गत आवमा २ हजार ५११ युनिट गाडी आयात गरेको छ । पछिल्लो समय बीवाइडीका गाडीहरु पनि ग्राहकको रोजाईमा परेका छन् ।
अघिल्लो वर्ष बीवाइडीको नेपालको लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले २ हजार १८२ वटा युनिट गाडी नेपाल भित्र्याएको थियो । यसरी नेपाली अटो बजारमा टाटाले फेरि एकपटक बीवाईडीलाई उछिनेको छ । इभीको बजारमा चाइनिज प्रडक्टको दबदबा हुँदा समेत टाटाको बिक्रीको यो आँकडालाई निकै ठूलो सफलता मान्न सकिन्छ ।
त्यस्तै, एमजी ब्राण्डका गाडीहरु पनि गत आवमा एक हजार २५० युनिट इभी बिक्री भएका छन् । पारामाउन्ट मोटर्सले एक वर्षमै एक हजार भन्दा बढी एमजी गाडी भित्र्याएको हो ।
चौथोमा बढी इभी गाडी भित्रिनेमा डोङफेङ नामी रहेको छ । यसको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले गत आवमा मात्रै एक हजार १७ युनिट गाडी भित्र्याएको छ ।
पाँचौ नम्बरमा धेरै गाडी आयात गरी बिक्री गर्नेमा डिपल ब्राण्डका गाडी छन् । एमएडब्लू ग्रुपले बिक्री गर्ने चांगन डिपल ब्राण्डका गाडी गत आवमा ७१२ युनिट गाडी आयात भई बिक्री भएका छन् ।
यसका साथै ओमोडा एण्ड जाइको छैठौं नम्बरमा छ । गत आवमा यो ब्राण्डको गाडी ७१० युनिट आयात भएको छ । यता चिनिया गाडी उत्पादक लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले पनि आफ्नो बजार हिस्सा बढाएको छ । कम्पनीले गत आवमा ४३५ युनिट गाडी आयात गरेको छ ।
साथै ह्युण्डाइ ब्राण्डका गाडी पनि पछिल्लो समय ग्राहकको रोजाइमा परेका छन् । ह्युण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले पनि गत आवमा ३४५ युनिट इभी आयात गरेर बिक्री गरेको छ । अघिल्लो आवमा भने यो ब्राण्डका गाडी १८७ युनिट मात्रै भित्रिएको थियो ।
