काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले खर्च नियन्त्रण गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा बढेतापनि कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी १०.७६ प्रतिशतले घटेर ७८ करोड २४ लाखमा सीमित बनेको छ । कम्पनी खर्च नियन्त्रण गर्न भने सफल भएको छ । कम्पनीले कुल २८ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । यो भनेको अघिल्लो आवको तुलनामा २.८१ प्रतिशतले कम हो । यस्तै कम्पनीको वित्त खर्च समेत २३ करोड ९६ लाखबाट घटेर १५ करोड ६५ लाखमा सीमित बनेको छ ।
अघिल्लो आवमा ९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार ११ करोड ६८ लाखले धनात्मक बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३३ करोड ५७ लाख र कुल चालु दायित्व १३ करोड १६ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ, पीई रेसियो ६९.५४ गुणा र तरलता अनुपात २.५५ प्रतिशत कायम भएको छ ।