काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २५२.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले २१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा बढेसँगै संस्थाले गत आवको लागि ९५ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशत बढी हो ।
अघिल्लो आवमा संस्थाले ८६ करोड ८२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको थियो । नाफा र वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति देखिएसँगै संस्थाको लाभांश क्षमता ६२.४० प्रतिशत पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी पनि ४२ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा संस्थाको ब्याज आम्दानी १ अर्ब ४९ करोड १४ लाख रुपैयाँ थियो । संस्थाको खराब कर्जा अनुपात भने सामान्य बढेको छ । अघिल्लो आवमा ४.६६ प्रतिशत रहेको एनपीएल गत आवमा बढेर ४.८७ प्रतिशत पुगेको छ । संस्थाको कस्ट अफ फण्ड ९.४१ प्रतिशतबाट घटेर ८.१८ प्रतिशत, सिडि रेसियो १२१.४२ प्रतिशतबाट बढेर १२४.२३ प्रतिशत, बेस रेट १२.६१ प्रतिशतबाट घटेर ११.५१ प्रतिशत र स्प्रेड दर ४.३५ प्रतिशतबाट बढेर ६.११ प्रतिशत पुगेको छ ।
एक अर्ब ५३ करोड ६१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो संस्थाको रिटेन्ड अर्निङ६० करोड ७६ लाख रुपैयाँबाट बढेर ९५ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार पनि १ अर्ब ३४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको इपीएस पनि ३१.५९ रुपैयाँ बढेर ४८.२० रुपैयाँ पुगेको छ । यता नेटवर्थ २५७.६३ रुपैयाँ, तरलता अनुपात ८.३८ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो)३१.४३ गुणा रहेको छ ।