काठमाण्डौ । चीनको एक ईभी अटो निर्माता कम्पनीले आफूले निर्माण गरेको कारले सिंगल चार्जमा १५ सय किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने दाबी गरेको छ । आईएम मोटर्सले चीनमा हालै लञ्च भएको एलएस६ सिंगल चार्जमा १५ सय किलोमिटरसम्म कुद्ने दाबी गरेको हो ।
यो कार मिड–साइज क्रसओभर एसयुभी हो । जुन आफ्ना अद्धितिय फिचर्सका लागि परिचित छ । यो कार ब्याट्री–इलेक्ट्रिक(बीईभी) र एक्स्टेन्डेड–रेञ्ज इलेक्ट्रिक(ईआरईभी) दुवै भर्जनमा उपलब्ध छ ।
बीईभी मोडलमा दुईवटा अप्सन रहेका छन्, पहिलो प्रो मोडल र दोस्रो अल्ट्रा मोडल ।
प्रो मोडलः यसमा ७६ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले एकपटक चार्ज गर्दा ६५० किलोमिटरको रेञ्ज दिने गर्छ । यो कार रियर–ह्विल ड्राइभमा आउछ जसले केवल ६.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार लिन सक्छ ।
अल्ट्रा मोडलः यो मोडलमा १०३ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले ७५० किलिमिटरसम्मको रेञ्ज दिन्छ । यसले ३.४८ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।
कम्पनीले आफ्ना कारको क्षमता टेस्लाको मोडल वाईभन्दा बढी भएको दाबी गरेको छ । टेस्लाको मोडल वाईले ६०० किलोमिटरको रेञ्ज प्रदान गर्छ ।