काठमाण्डौ । दुई पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ४१ अर्ब भन्दा बढी लगानी गरेका छन् ।नेपाल बीमा प्राािधकरणका अनुसार गत आवको अन्त्यसम्म हिमालयन रि र नेपाल रि ले विभिन्न क्षेत्रमा ४१ अर्ब २ करोड ६५ लाख रुपैयाँ लगानी गरेका हुन् ।
यो लगानी रकम अघिल्लो आवको तुलनामा ६.३८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा दुई पुनर्बीमकले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ लगानी गरेका थिए ।
प्राधिकरणका अनुसार नेपाल रि इन्स्योरेन्सको लगानी ०.३० प्रतिशतले घटेको छ भने हिमालयन रि इन्स्योरेन्सको लगानी १४.२० प्रतिशतले बढेको छ ।
नेपाल रि इन्स्योरेन्सले गत आवको अन्त्यसम्म विभिन्न क्षेत्रमा २० अर्ब ७२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन रि इन्स्योरेन्सले २० अर्ब ३० करोड १६ लाख रुपैयाँ लगानी गरेको छ ।
अघिल्लो आवमा भने नेपाल रि ले २० अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको थियो भने हिमालयन रि ले १७ अर्ब ७७ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको थियो ।
नेपाल रि को अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, अन्य संस्थापक सेयर, सरकारको बचतपत्र वा ऋणपत्र र मुद्दती निक्षेपमा गरिएको लगानी घटेको छ भने नागरिक लगानी कोष र म्युचुअल फण्डमा गरिएको लगानी बढेको छ ।
यता हिमालयन रि इन्योरेन्सको भने मुद्दती निक्षेप, अन्य संस्थापक सेयर र अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा गरेको लगानी घटेको छ भने सेयरबजार र नागरिक लगानी कोष र म्युचुअल फण्डमा गरेको लगानी उल्लेख्य बढेको छ ।
दुई पुनर्बीमा कम्पनीले गत आवमा सेयरबजारमा एक अर्ब १७ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । जसमा हिमालयन रि ले मात्रै १ अर्ब ८ करोड रुपैया लगानी गर्दा नेपाल रि ले जम्मा ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।
