काठमाण्डौ । गत आर्थिक वर्षमा २० खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनीहरुको कुल २० खर्ब ८८ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १९१.५६ प्रतिशत बढी हो । अघिल्लो आवमा सूचीकृत १३ समूहका कम्पनीहरुको ७ खर्ब १७ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सबैभन्दा बढी हाइड्रो समूहको मात्रै ८ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो रकम अघिल्लो आवको तुलनामा २९६.२७ प्रतिशत बढी हो । तुलनात्मक रुपमा पनि यो समूहको कारोबार रकम नै उच्च वृद्धि भएको छ ।
अघिल्लो आवमा हाइड्रो समूहको २ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्सेमा ९२ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । यसकारण पनि यो समूहको सर्वाधिक कारोबार देखिएको हो ।
साथै, सेयरबजारमा अल्पकालिन लगानीकर्ता हाबी हुनु र दीर्घकालिन लगानी भन्दा बढी ट्रेडरहरुको संख्या बढ्न थालेपछि त्यस्ता ट्रेडरहरुले कारोबारका लागि बढी हाइड्रो कम्पनी नै रोज्ने हुँदा पनि यो समूहको कारोबार रकम उच्च देखिएको हो ।
त्यस्तै, वाणिज्य बैंकहरुको पनि १ खर्ब ९१ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १८६.१६ प्रतिशत बढी हो ।
यसका साथै, फाइनान्स समूहको १ खर्ब ६९ अर्ब २४ करोड, लगानी समूहको १ खर्ब ६३ अर्ब ६६ करोड, विकास बैंक समूहको १ अर्ब ६१ अर्ब ७० करोड, लघुवित्त समूहको १ खर्ब ३१ अर्ब ५६ करोड, अन्य समूहको १ खर्ब २६ अर्ब ८३ करोड, जीवन बीमा समूहको १ खर्ब ११ अर्ब ६० करोड, उत्पादन तथा प्रशोधन समूहको ७९ अर्ब ६ करोड, निर्जीवन बीमा समूहको ७५ अर्ब ३६ करोड, होटल तथा पर्यटन समूहको ४३ अर्ब २ करोड, व्यापार समूहको ६ अर्ब ३५ करोड र म्युचुअल फण्ड समूहको ५ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी कारोबार बढ्ने समूहमा हाइड्रो समूह नै रहेको छ । यो समूहको कारोबार २९६.२७ प्रतिशत वृद्धि भएको छ ।
साथै विकास बैंक समूहको २८६.८० प्रतिशत, लगानी समूहको २५९.५८ प्रतिशत, अन्य समूहको २२१.१३ प्रतिशत, म्युचुअल फण्ड समूहको १९०.८९ प्रतिशत, वाणिज्य बैंक समूहको १८६.१६ प्रतिशत, फाइनान्स समूहको १६४.३५ प्रतिशत वृद्धि भएको छ ।