काठमाण्डौ । रुसी कच्चा तेल भारतका लागि झनै सस्तो भएको छ । डोनाल्ड ट्रम्प प्रशासनले रुसी तेल खरिद गरेकोमा भारतमा भारी ट्यारिफ लगाएको छ। यति हुँदाहुँदै पनि भारतले रुसी तेल प्रति ब्यारेल ३–४ डलरले सस्तोमा पाईरहेको छ ।
ब्लुमबर्गको रिपोर्टका अनुसार सेप्टेम्बर र अक्टोबरमा जहाज लोडिङका लागि रसियाको युराल ग्रेडको तेल पनि सस्तो मूल्यमा बिक्री भइरहेको छ। गत हप्ता यो छुट २.५० डलर थियो। जबकि जुलाईमा यो एक डलर मात्र थियो। अर्कोतर्फ अमेरिकाबाट भारत आउने तेलको मूल्य ब्रेन्ट क्रुडभन्दा ३ डलर बढी छ । जसका कारण रुसी तेल किन्नु भारतका लागि बढी फाइदाजनक छ ।
यो खबर यस्तो बेला आएको हो जब हालसालै सांघाई कोअपरेशन अर्गनाइजेसन(एससीओ)मा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको थियो । दुवैले कारभित्र ४५ मिनेट कुराकानी गरेका थिए । सारा दुनियाँबाट लुकाएर दुई नेताबीच के कुरा भयो, त्यो कसैलाई थाहा छैन ।
युक्रेन युद्धपछि भारत रुसी तेलको ठूलो खरिदकर्ता बनेको छ । तर, अमेरिकाले अहिले यो व्यापारका लागि भारतलाई कर लगाएको छ । राष्ट्रपति ट्रम्पले पनि यसको आलोचना गरिरहेका छन् । यही कारणले भारतले अहिले रुससँगको सम्बन्धलाई मजबुत बनाइरहेको छ । चीनसँग भारतको मित्रता पनि बढेको छ ।
चीनमा भएको एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले रुससँगको भारतको सम्बन्धलाई ‘विशेष’ भनेका थिए। मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेटेका थिए ।
यतिबेला अमेरिका र भारतबीच व्यापारलाई लिएर तनाव बढ्दै गएको छ । ट्रम्प प्रशासनले भारतबाट रुसी तेल आयातमा भारतीय सामानमा ५० प्रतिशत कर लगाएको छ ।