काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७८१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७१९ विन्दुमा बन्द भयो ।
यस हिसाबले यो साता बजार ६१.२३ अंकले घट्यो । अघिल्लो साता २३ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा २५ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ३२ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण भने ४५ खर्ब ४६ अर्ब पुगेको छ । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४६ खर्ब ४७ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब १ अर्बले घट्यो ।
प्राविधिक पक्षः
मूभिङ एभरेजको आधारमा
मूभिङ एभरेज भनेको मूभ हुँदै विभिन्न अंकहरुको एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यस्तो एभरेज विधिमार्फत बजारमा विशेषगरी छोटो समयको उतारचढाव हेर्न ५ दिने र २० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । त्यसैगरि, लामो समयको बजारको अबस्था हेर्न ५० दिने, २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ ।
यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्टको काम गरेका हुन्छन भने बढ्दो बजारमा प्रतिरोधको काम गरेका हुन्छन् । यो विधि पूँँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।
बजारमा अहिलेको अवस्थामा हेर्दा केही समय पहिले ५० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजारले यो साता २०० दिने रेखामा सपोर्ट लिएको छ । यस कारण घट्दो बजारमा नेप्सेले सपोर्ट लिएको मान्न सकिन्छ ।
बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा केही समय पहिले २० दिने मुभिङ एभरेज रेखा ( हेर्नुहोस रातो एरो ) बाट तल खसेको बजारले त्यस पछि त्यो रेखाबाट माथी जान सकेको छैन । अर्थात हालको औषत कारोबार ६ अर्ब ३५ करोड भन्दा माथि बजार लाग्न सकेको छैन । यदि आगामी दिनमा बजारले अप ट्रेन्ड लिन्छ भने यो विन्दु भन्दा माथि चल्नु पर्ने हुन्छ ।
बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट तल खसेको बजार यो साता मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । म्याक्डीमा भने वियरिस क्रसओभर नजिक बजार चलेको देखिन्छ । त्यसैगरि, आरएसआई न्यूट्रल जोन अर्थात नन ट्रेडिङ जोन नजिक पुगेको छ ।

पिभट् प्वइन्टः
पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३०६५
प्रतिरोध २ – २९९५
प्रतिरोध १– २८७३
पिभट् प्वइन्टः २८०१
घटेमा सपोर्ट
सपोर्ट १– २६७९
सपोर्ट २– २६७९
सपोर्ट ३ –२४८५

निष्कर्षः अघिल्लो साता बढेको बजारमा यो साता गिरावट आएको देखिन्छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लो समय नेप्सेको कारोबार औषत कारोबार भन्दा तल नै आएको छ । मूभिङ एभरेजबाट बजारलाई नियाल्दा अघिल्लो साता ५० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजारले यो साता २०० दिने रेखामा सपोर्ट लिएको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा पछिल्लो समय २० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजार त्यसपछि माथि लाग्न सकेको छैन । डेली बेसमा नियाल्दा भने सपोर्ट जोन आसपासमा स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको देखिन्छ । अर्थात बजारमा एउटा रिभर्सलको संकेत देखिन्छ तर यसको लागी आगमी दिनका केही कारोबार भने नियाल्नु पर्ने हुन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।