काठमाण्डौ । नक्सालस्थित भाटभटेनी सुपर स्टोर मंगलबार साँझ आन्दोलनकारीहरूको निशानामा पर्यो। प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि स्टोरमा आगजनीसमेत गरेका छन्।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार स्टोरभित्र रहेका सामग्री उठाइएपछि आगो लगाइएको हो। उनले भने, “कतिपय सामान लुटेर लगिएको छ, त्यसपछि स्टोरमा ठूलो आगो लगाइयो। क्षतिको यकिन विवरण भने आउन बाँकी छ।”
यसअघि पनि राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट भएको थियो।
यो घटनाले देशभर फैलिएको असन्तोषको चरम रुप देखाएको विश्लेषकहरूको भनाइ छ। नेपालको खुद्रा बजारमा ठूला चेन सुपर स्टोरहरूमाथिको सीधा आक्रमण केवल व्यापारिक क्षति मात्र नभई अस्थिर राजनीतिक माहोलले निजी व्यवसायलाई असुरक्षित बनाएको संकेतका रूपमा लिइएको छ।