काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट एक महिनामै बीमा पोलिसी सरेण्डरमार्फत एक अर्ब भन्दा बढी रकम बाहिरिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु आवको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।
यो रकम गता आवको सोही अवधिसम्मको तुलनामा १९.२१ प्रतिशत कम हो । गता आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको साउन महिनामा १० हजार २९२ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको साउन महिनामा भने ७ हजार ६६६ जनाले मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या २५.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ७.४३ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा बीमालेख नविकरण नगरिएको रकम ३४ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
यता व्यतित बीमालेखको संख्या पनि ४.३२ प्रतिशत बढेर १२ लाख २९ हजार ४४६ वटा पोलिसी रिन्यु भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ७८ हजार ५६२ रहेका थिए ।
जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ । यस्तो दर बढ्दै जाँदा बीमा कम्पनीहरुको व्यवसायमा प्रतिकुल असर पार्ने देखिन्छ ।