काठमाण्डौ । जेनजी आन्दोलनको नोक्सानी पुनःनिर्माण र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थमन्त्रालयले तीन सदस्यीय विशेष कार्यदल गठन गरेको छ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार कार्यदलको मुख्य जिम्मेवारी हालकै बजेटभित्र स्रोत खोजी गर्ने, प्राथमिकता निर्धारण गर्ने र आवश्यक रकम जुटाउने अध्ययन गर्नु हो।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार पदभार सम्हाल्दै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबका कारण समावेश भएका, तयारी अपूर्ण वा टुक्रा योजनाहरू कटौती गरिने बताएका थिए।
उनले स्पष्ट पारे, पूरक बजेट नल्याई वर्तमान बजेटकै पुनर्संयोजनमार्फत करिब एक खर्ब रुपैयाँ बराबर स्रोत जुटाइ निर्वाचन र पुनःनिर्माणको खर्च धानिनेछ।
विशेषतः अर्थमन्त्रालयले यस कदमलाई “आन्तरिक स्रोतमै आत्मनिर्भरता” र “बजेट पुनर्संरचना मार्फत द्रुत र प्रभावकारी व्यवस्थापन”को उदाहरणका रूपमा प्रस्तुत गरेको छ।