काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीजी समूहको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन् । ओलीले फेसबुकमार्फत संविधान दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो दाबी गरेका हुन् ।
‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले लेखेका छन्, प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ ( नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।’
यस्तै उनले देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको कुरा नयाँ पुस्ताले आफैं महसुस गर्ने समेत बताए।
उनले लेखेका छन्, ‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ। ’
ओलीले सबै पुस्ताका नेपाली एकजुट हुनु पर्ने बताउँदै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्न आह्वान गरेका छन् ।