काठमाण्डौ । अपेक्षाभन्दा विपरीत दिशामा हिँडिरहेको नेपाली सेयरबजार यतिबेला स्पष्ट दिशाविहीन देखिएको छ। नयाँ सरकारसँगै बजारमा उछाल आउने अपेक्षामा बसेका लगानीकर्ताहरू अहिले निराशा र अन्योलबीच ‘पर्ख र हेर’ को मनोविज्ञानमा अड्किएका छन्।
पछिल्ला दुई साताको तथ्याङ्कले बजारको सुस्तता स्पष्ट देखाउँछ। दैनिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा तल झरेको छ भने समग्र सूचक नयाँ सरकार गठनपछि करिब १९० अंकले ओरालो लागेको छ। बजारमा देखिएको यो गिरावटलाई विश्लेषकहरूले आधारभूतभन्दा बढी मनोवैज्ञानिक असरको परिणाम मानिरहेका छन्।
विशेषगरी रेगुलेसन, कर नीति र कर्जा नीतिबारे सरकारको स्पष्ट धारणा नआउँदा साना–ठूला सबै खालका लगानीकर्ता ‘वेट एन्ड वाच’ मोडमा छन्। यसले बजारमा तरलता घटाउँदै लगेको छ भने कारोबारको भोल्युम निरन्तर खुम्चिँदै गएको छ।
अर्थशास्त्री सूर्यनारायण पौडेल का अनुसार, “सेयरबजारमा सबैभन्दा ठूलो प्रभाव मनोवैज्ञानिक पक्षले पार्छ। अहिले ठूला लगानीकर्ता निष्क्रियजस्तै बसेका छन्, जसले बजारलाई साइडवेजमा धकेलेको छ।”
उनका अनुसार सरकारले पूँजीबजारका लागि केही नीतिगत संकेत गरे पनि त्यसको कार्यान्वयनमा विश्वसनीयता नदेखिँदा लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको छैन।
सरकारले सम्पत्ति शुद्धीकरण, निजी क्षेत्रका व्यवसायीमाथि अनुसन्धान र पक्राउजस्ता कदम अघि सारेपछि बजारमा थप सन्देह र सावधानी बढेको देखिन्छ। विज्ञहरू भन्छन्—यस्ता कदम दीर्घकालीन रूपमा सकारात्मक भए पनि छोटो अवधिमा बजारको मनोविज्ञानमा नकारात्मक असर पार्छन्।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि लगानीकर्ताको आत्मविश्वास कमजोर हुँदा बजारमा अपेक्षित गतिविधि नदेखिएको बताउँछन्।
उनले भने, “बजार अहिले तल्लो विन्दु नजिक पुगेको छ, तर बिक्रीकर्ता पनि आक्रामक छैनन्। नीतिगत स्पष्टता नआएसम्म लगानीकर्ता सक्रिय हुने अवस्था छैन।”
उनका अनुसार बजारमा ‘हिडन प्लेयर्स’ हरू प्रशस्त छन्, तर सरकारी गतिविधिका कारण उनीहरू सतर्क बनेका छन्। यसले कारोबार भोल्युममा प्रत्यक्ष असर पारेको छ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल ले पनि हालको अवस्थालाई ‘इनभेस्टमेन्ट-फ्रेन्ड्ली’ नभएको टिप्पणी गरे।
उनले भने, “अहिले लगानी थप्ने माहोल बनेको छैन। सरकारी कदमहरूले निजी क्षेत्र र लगानीकर्तालाई दुवैलाई हतोत्साहित बनाएको छ।”
यद्यपि, विश्लेषकहरू पूर्ण रूपमा नकारात्मक छैनन्। बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय प्रतिवेदन सन्तोषजनक रहेकाले बजारमा आधारभूत पक्ष अझै बलियो रहेको उनीहरूको बुझाइ छ। यदि सरकारले बजेटअघि नै स्पष्ट नीतिगत सन्देश दिन सकेमा बजारमा छोटो अवधिको ‘स्विङ’ आउन सक्ने संकेत गरिएको छ।
हालका लागि भने बजार स्पष्ट संकेतको प्रतीक्षामा छ: जहाँ न त बेच्ने हतार छ, न त किन्नसक्ने आत्मविश्वास। यही द्विविधाले सेयरबजारलाई ‘साइडवेज ट्र्याप’ मा राखेको देखिन्छ।

